• १३ वैशाख २०८१, बिहिबार

आर्मीको दोस्रो जित, पुलिसलाई पहिलो अङ्क

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै पुलिस र एनआरटीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, चैत ४ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुनरागमन जित निकालेको हो । 

यस्तै दशरथ रङ्गशालामा शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिसले न्युरोड टिम (एनआरटी) सँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । लिगमा पुलिसको यो पहिलो अङ्क हो ।

खेलमा सुरुवाती अग्रता फ्रेन्ड्सले लिएको थियो । छैटौँ मिनेटमा  फ्रेन्ड्सका राफिक अमिनुले पहिलो गोल गर्नुभयो । त्यसपछि जोसिएको आर्मीका लागि २४औँ मिनेटमा जिलेस्पीजङ्ग कार्कीले बराबरी गोल फर्काउनुभयो ।

त्यसपछि इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई जिताउनुभयो । जितसँगै आर्मीले पाँच खेलबाट आठ अङ्क बनाएको छ । पराजित फ्रेन्ड्सको समान खेलबाट चार अङ्क पुगेको छ । 

यसैगरी दशरथ रङ्गशालामा ६४औँ मिनेटमा एनआरटीका सञ्जीव विष्टले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ७५औँ मिनेटमा पुलिसका प्रताप गुरुङले गोल गर्दै खेललाई बराबरीमा लग्नुभएको थियो । लिगको पाँचौँ खेलमा आएर पहिलो अङ्क पाएको पुलिस तालिकाको अन्तिममा छ । एनआरटीले समान खेलबाट दुई अङ्क बनाएको छ ।