• १६ चैत २०८०, शुक्रबार

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान

blog

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमाणपत्र प्रदान गर्नुहुँदै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत ३ गते। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको प्रमाणपत्र प्रदान गर्नुभएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो।मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो।आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन्।सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको थियो।मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो। 

यो पनि पढ्नुहोस

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ।यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।