• १२ वैशाख २०८१, बुधबार

कलाकार दुर्गा बरालको रथारोहण गरिने

blog

कलाकार दुर्गा बराल वात्स्यायन ।

सन्तोष सुवेदी

कास्की, चैत ३ गते । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गरिने भएको छ । चैत ४ गते ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेको दिन उहाँलाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले संयुक्त रुपमा गर्न लागेका हुन् । 

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले चित्रकारितालाई अति यर्थाथवादी धारमा लग्न गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागेको जानकारी दिनुभयो । पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उहाँले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गर्नुभएको छैन, थुप्रै अनुजहरुलाई दीक्षित गर्नुभएको छ ।” 

बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिक विकृति, विसङ्गति केलाउँदै व्यङ्ग्य चित्रकारितामा सर्वोच्च रुपमा आफूलाई उभ्याउनु भएको छ । साथै व्यङ्ग्य चित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान गर्नुभएको छ । 

पोखरामा शारीरिक सुगठन कला भित्र्याउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिनुपर्ने पौडेलले उल्लेख गर्नुभएको छ । पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उहाँको योगदान रहेको अध्यक्ष पौडेलले बताउनुभयो । कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्षमा रथारोहण पुग्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो ।