• १३ मंसिर २०८१, बिहिबार

शहीद घोषणाका लागि नाम सिफारिस

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, चैत २ गते । काभ्रे जिल्लामा १० वर्षीय सशस्त्र सङ्घर्ष एवं जनआन्दोलनका क्रममा मृत्यु भएकाहरूको विवरण अद्यावधिक गरिएको छ। 

सरकारले शहीदको नामावली राजपत्रमा प्रकाशित गर्ने प्रयोजनका लागि गृह मन्त्रालयमा भएको विवरणको त्रुटि भए/नभएको यकिन गरी पठाउन जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई निर्देशन दिएपछि कार्यालयले शहीदहरूको नामावली अद्यावधिक गरेको हो। 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ३६ जना महिलासहित २८४ जनाको नाम गृह मन्त्रालयमा सिफारिस गरेको छ। बैठकले मन्त्रालयबाट प्राप्त भएका १४५ जना शहीदको नामावलीसहित अद्यावधिक गर्न पठाएको थियो।

प्रमुख जिल्ला अधिकारी पौडेलले गृह मन्त्रालयबाट प्राप्त सरकारबाट शहीद घोषणा भएका १४५ जनाको सूचीमा शुद्धाशुद्धिसहित अद्यावधिक गर्दा ११ जनाको नाम दोहोरो परेको पाइएको बताउनुभयो। सर्वपक्षीय बैठकले जनआन्दोलनमा मृत्यु भएका चार जना, स्थानीय तहको निर्वाचन २०७४ मा मृत्यु भएका एक जना, जिल्ला अदालतबाट मृत्युको न्यायिक घोषणा भएका चार जनासमेत गरी थप १५० जनालाई शहीदको सूचीमा समावेश गर्न सिफारिस गरेको मानव अधिकार सञ्जालका जिल्ला संयोजक भोजराज तिमल्सिनाले जानकारी दिनुभयो।

जिल्ला अदालतबाट मृत्युको न्यायिक घोषणा भएका धुलिखेलका सगुन श्रेष्ठ, तत्कालीन शारदाबतासे–८ का अच्युतप्रसाद पौडेल, पाँचखाल नगरपालिका–९ का इन्द्रबहादुर श्रेष्ठ (बाबुकाजी) र बनेपा नगरपालिका–६ का राजभाइ रञ्जितकारलाई शहीद घोषणा गर्न सिफारिस गरिएको छ। यस्तै जनआन्दोलनमा मृत्यु भएका तत्कालीन वाल्टिङ गाविस–७ का शिवहरि कु्ँवर, उग्रचण्डी नाला–७ का भीमसेन दाहाल, बनेपा नगरपालिका–७ का सगुन ताम्राकार, तत्कालीन नाग्रेगगर्चे गाविस–४ का अनिलकुमार तामाङ र २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नमोबुद्ध नगरपालिका–४ मा गोली लागी मृत्यु भएका नमराज पाठकलाई शहीद घोषणा गर्न सर्वदलीय बैठकबाट सिफारिस भएको छ। सशस्त्र सङ्घर्षपछि स्थानीयस्तरमा विद्यमान द्वन्द्वका प्रभाव कम गर्दै शान्ति स्थापनाका लागि स्थानीय शान्ति समिति गठन गरिए पनि शान्ति समितिले द्वन्द्व र जनआन्दोलनमा मृत्यु भएकाहरूको तथ्याङ्क अद्यावधिक गर्न सकेको थिएन। 

मानव अधिकारकर्मी तिमल्सिनाले सशस्त्र सङ्घर्ष एवं जनआन्दोलन र स्थानीय तह निर्वाचनमा गरी बढी जिल्लाको खानीखोला गाउँपालिकाका ३६ जनाको मृत्यु भएको बताउनुभयो। यस्तै चौँरीदेउराली गाउँपालिकाका ३५ जना, रोसी गाउँपालिकाका २९, पाँचखाल नगरपालिकाका २७ जना, पनौती नगरपालिकाका २६, तेमाल गाउँपालिकाका २३, नमोबुद्ध नगरपालिकाका २३, बनेपा नगरपालिकाका २०, मण्डनदेउपुर नगरपालिकाका १९, धुलिखेल नगरपालिकाका १३, भुम्लु गाउँपालिकाका १४, बेथानचोक गाउँपालिकाका ११ र महाभारत गाउँपालिकाका आठ जनाको मृत्यु भएको तिमल्सिनाले बताउनुभयो।