• १० मंसिर २०८१, सोमबार

अझै पुनर्निर्माण हुन सकेनन् विद्यालय भवन

blog

बाबुराम शर्मा

दोलखा, फागुन २९ गते । भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन्। 

भारत सरकारद्वारा गत २०७७ चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँको लागतमा केही विद्यालय पुनर्निर्माण भएका छन्। बन्दाबन्दीको समयमा पनि धमाधम पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये भीम मावि दोलखा, कालीढुङ्गा मावि मिर्गे र गुप्तेश्वर मावि मालु मात्र सम्पन्न भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार ठेक्कामार्फत कालिञ्चोक मावि चरीकोट, कालीनाग मावि सुनखानी, क्षत्रावती मावि क्षेत्रपा, कालापानी मावि, शान्ति आदर्श मावि लादुक, मानेडाँडा मावि झ्याकु र दुर्गा माविको भवन पुनर्निर्माण भइरहेका छन्। 

त्यसैगरी चीन सरकारको दुई अर्ब १७ करोड रुपियाँको लगानीमा भूकम्प प्रभावित कालीनाग मावि सिँगटी र सर्व मावि जिलु निर्माणाधीन अवस्थामा छन्। नेपाल र चीन सरकारको द्विपक्षीय सम्झौतामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमार्फत जिरी माध्यमिक विद्यालयको भवन निर्माणाधीन छ। 

त्यस्तै ११ करोड ५० लाख रुपियाँमा जापानिज फन्ड फर पभर्टी रिडक्सन सपोर्ट प्रोजेक्टअन्तर्गत हनुमन्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। 

एसियाली विकास बैङ्कले निर्माण गर्न लागेको ११ वटा विद्यालय भवनमध्ये पशुपति कन्या मावि चरीकोट, जनज्योति मावि लेप्टुङ र देवी मावि बोचको भवन हस्तान्तरण गरिएको छ। जनज्योति मावि पुतलीकाठ, थम्पु मावि आलम्पु, शारदा मावि भैँसे, सत्यश्वर मावि पवटी, लापिलाङ मावि लापिलाङ, चित्रे मावि लादुक, कालिका मावि हावा र बालोदय मावि कालिञ्चोकको भवन निर्माणाधीन छन्। 

गैरसरकारी संस्थामार्फत ९६ करोड ३९ लाख रुपियाँको लगानीमा १३२ विद्यालय भवन पुनर्निर्माण सम्पन्न भइसकेका छन्। भूकम्पमा क्षति भएका जिल्लाका ६४९ विद्यालय भवनमध्ये छ सयवटा निर्माण सम्पन्न भइसकेका छन् भने २३ वटा निर्माणाधीन छन्। 

विद्यालय भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति, एडीबी, जापान, भारत, चीन सरकार, शिक्षा विकास तथा समन्वय एकाइ र गैरसरकारी संस्थाको सहयोग रहेको छ।