• ११ मंसिर २०८१, मङ्गलबार

स्वास्थ्य बीमा सेवा प्रभावित

blog

काठमाडौँ, फागुन २९ गते । स्वास्थ्य बीमा लागू भएका अस्पतालमा आइतबार प्राविधिक समस्याले गर्दा हजारौँ बिरामी उपचारबाट वञ्चित भएका छन्। उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर, कोशी, नारायणीलगायतका प्रमुख केन्द्रीय अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउने बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन्।

ओखलढुङ्गा मिसन अस्पतालबाट रिफर भएर पाठेघरको शल्यक्रिया गर्न परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली आउनुभएकी हीरा कोइरालाको स्वास्थ्य बीमा भए पनि बीमाबाट उपचार हुन सकेन। बिहान ९ बजे अस्पताल पुग्नुभएकी कोइराला लामो लाइन बसेर टिकट काउन्टरसम्म पुग्नुभयो। स्वास्थ्य बीमामा समस्या आएको भन्दै उहाँलाई फर्काइयो। दिउँसो १२:४५ बजे पुनः लाइन लागेर काउन्टरमा पुग्दा स्वास्थ्य बीमा नम्बरमा पैसा देखाएन। 

पुनः सामाजिक सुरक्षा एकाइमा पुग्दा पूरा पैसा देखायो। एकाइबाट काउन्टरमा फोन गर्दा काउन्टरमा बीमाको सक्रियता र पैसा नदेखाई टिकट नदिने र उपचार नहुने जवाफ आयो। कोइरालाजस्तै गाउँबाट उपचार गर्न आएका सयौँ बिरामी स्वास्थ्य बीमामा आएको समस्याले गर्दा उपचार गर्न पाएनन्। 

यसबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासँग बुझ्दा बीमा बोर्डको कुनै दोष नरहेको भन्दै ‘गभर्मेन्ट इन्टिग्रेट डाटा सेन्टर’ (जीआईडीसी)मा प्राविधिक समस्या आएपछि स्वास्थ्य बीमा लागू भएका अस्पतालमा सेवा प्रभावित भएको जानकारी दिनुभयो। उहाँले जीआईडीसीमा आएको समस्याका कारण स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमा बिहान ७ बजेदेखि ११ बजेसम्म सेवा प्रभावित भएको जानकारी दिनुभयो। 

चार घण्टा सेवा प्रभावित हुँदा बीमाअन्तर्गत सेवा लिन जाने बिरामी वञ्चित हुन पुगेका थिए। बिहान ७ बजेदेखि जीआईडीसीमा समस्या आएका कारण समस्या भएको भन्दै दिउँसोदेखि सेवा सुचारु भइसकेको उहाँले बताउनुभयो। बीमा बोर्डले दिउँसोदेखि सेवा सुरु भएको बताइरहँदा थापाथली अस्पतालमै दिनभरि स्वास्थ्य बीमामार्फत उपचार हुन सकेन।वीर अस्पतालमा पनि स्वास्थ्य बीमाको सर्भरमा समस्या आएपछि सेवा अवरुद्ध भयो। 

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आइतबार बीमामार्फत हुने उपचारमा समस्या भएको जानकारी दिनुभयो। त्रिवि शिक्षण अस्पतालले सर्भरमा समस्या भएपछि सूचना नै प्रकाशित गरेको थियो।