• १३ वैशाख २०८१, बिहिबार

आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै

blog

काठमाडौँ, फागुन २८ गते । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चीनसँग सिमाना जोडिएका पाँच र भारतसँग सिमाना जोडिएका एक ठाउँमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको छ ।’’ चीनतर्फ हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङगोला, डोल्पाको तिन्जे धो र भारततर्फ महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बन्दरगाहका लागि प्रस्तावितमध्ये चार ठाउँको पूर्वसम्भाव्यता अध्ययन (प्री–फिजिबिलिटी स्टडी) सम्पन्न भइसकेको छ भने दुईवटाको अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ ।’’ उहाँका अनुसार कोरोला सुक्खा बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययन पूरा भई अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भइरहेको छ । उहाँका अनुसार ताप्लेजुङको ओलाङ्चुङगोला, हुम्लाको यारी, महोत्तरीको जलेश्वर सुक्खा बन्दरगाह निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने डोल्पाको तिन्जे धो र सङ्खुवासभाको किमाथाङ्कामा प्रस्तावित बन्दरगाहको पूर्वसम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा छ । अबको एक महिनाभित्र अध्ययन सुरु हुन्छ ।

तीन बन्दरगाह निर्माणाधीन

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार अहिले मुलुकमा तीनवटा सुक्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छन् । बाँकेको नेपालगञ्जमा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ भने कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भारतले नै गर्ने गरी दुई मुलुकबीच सहमति भइसकेको समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज र टिमुरे सुक्खा बन्दरगाहको भौतिक प्रगाति क्रमशः ८० र ४० प्रतिशत छ ।

सातवटा सञ्चालनमा

समितिका इन्जिनियर शोभाकान्त राउतले अहिले काठमाडौँ, काँकडभिट्टा, विराटनगर, वीरगञ्ज (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी), भैरहवा, तातोपानी गरी सातवटा सुक्खा बन्दरगाह सञ्चालनमा रहेको जानकारी दिनुभयो ।