थुनिएको जिन्दगी शीर्षकीय कविता सङ्ग्रह लिएर कवि उद्धवहरि अधिकारी (२०१४) नेपाली साहित्यको बगैँचामा उपस्थित हुनुभएको छ । यस कविता सङ्ग्रहमा ११० वटा छोटा छोटा सिर्जनाको माला गाँसिएको छ । कविता, गीत र गजलको त्रिवेणी मानिएको प्रस्तुत सँगालोभित्र सवाल जवाफका पनि बान्की पस्किएको देखिन्छ । विषयवस्तुको विविधता र कवितामा नै पारिवारिक चिठी आदानप्रदान गर्न सक्ने कविप्रतिभा यस कृतिको विशेषता हो भन्न सकिन्छ ।
गीति लय, शास्त्रीय छन्द र स्वतन्त्र अभिव्यक्तिका गद्यशैलीमा आबद्ध यस कृतिभित्र विभिन्न भावभूमिका सिर्जना लिपिबद्ध भएका छन्, जस्तै लकडाउनको बन्दी जीवन, कोरोनाको त्रासमा भूकम्पको सम्झना, आफ्नै देश बिर्सियौ कि, छिमेकी ठूल्दाइलाई चेतावनी, जीवनको हिसाब किताब, हराएको मेरो देश, निरोहरूको कथा, बालुवाटारमा पहिरो गएछ, सरकार हराएको सूचना, पोथी किन हो बास्न नहुने ? जस्ता उत्कृष्ट तथा प्रतिनिधि कविताको यहाँ रसास्वादन गर्न सकिन्छ ।
लकडाउनको बन्दी जीवन नामक कवितामा घरभित्र थुनिएर बस्नुपर्दा उमेरमै बूढो भइयो, त्यसमाथि कोरोनाले सारा खुसी चैन लुटी लगेको चित्र प्रस्तुत गरिएको छ । कोरोनाले सम्बन्धको बन्या पुल बगाइदियो भन्दै भूकम्पले जोडेको नाता कोरोनाले छुटाइदिएको मार्मिक वर्णन छ । कस्ता थिए पुर्खाहरू तिनको देन कुल्चियौ कि, तिनकै पौरखले बन्या आफ्नै देश बिर्सियौ कि भन्दै तीव्र आक्रोश पोखिएको छ ।
छिमेकी ठूल्दाइलाई चेतावनी शीर्षकको कवितामा जङ्गे पिल्लर पारि थियो किन वारितिर सा¥यौ, हाम्ले तिरो ति¥या जमिन किन अर्कैतिर पार्यौ भनिएको छ । मैनबत्तीको दृष्टान्त दिँदै सधैँ पग्लिएर जल्नुपर्छ, धिप्धिप् गर्दै भए पनि त्यसको शिखा बल्नुपर्छ भन्छन् कवि जीवनको हिसाबकिताब नामको कवितामा । हराएको मेरो देश शीर्षकको कविताको सार यस्तो छ, गिद्धहरू घुमिरहेछन् आकाशमा, उधिन्लान् तिनले मेरो देशको माटो चोर्लान्, मैले मेरो देशको माटो जोगाउनु छ भन्ने देशप्रेमको भावना छताछुल्ल भएको देखाइएको छ ।
देश भो निरोहरूकै बिर्ता, छैन कसैलाई देशको सुर्ता, एउटा निरो लाउँछ दौरा, अर्को निरो धोती र कुर्ता भन्दै राजनीतिक व्यङ्ग्यको सिस्नोपानी लगाएका छन् कविले । बालुवाटारमा पहिरो गएछ भन्ने कविताले नेताहरूको छेपारे प्रवृत्तिको चिरफार यसरी गरेको छ, सब बस्तीमा धाक जमाउँछ, बदमासीमै नाम कमाउँछ, कसरी बुझ्नु उसको चाला एउटा छोड्छ अर्को समाउँछ । कोभिडले ग्रस्त छ राजधानी, सरकार क्वारेन्टाइनमा बसी तास खेल्दैछ कि, आइसोलेसनमा योगासन गर्दैछ वा भेन्टिलेटरमा उपचार गराउँदैछ भन्ने प्रश्नको वर्षा सरकार हराएको सूचनामा गरिएको छ ।
पोथी किन बास्न नहुने कविताले नारी र पुरुषमा भएको विभेदलाई यथार्थपरक ढङ्गले यसरी अभिव्यक्त गरेको छ, बोल्नु छ बोली तौली तौली खोकी लाग्दा खास्न नहुने, रुखो स्वरमा बोल्दछ भाले, पोथी सुरमा बास्न नहुने ?
यस सङ्ग्रहमा मन्त्री, राजनीति, रोपाइँ, लकडाउन, ठुल्दाइ, बालुवाटार, खराब नेताले दिएका घाउका कुरा छन् अनि राजनीतिको जोडघटाउका प्रसङ्ग व्यापक रूपमा आएका छन् । समग्रमा भन्नुपर्दा यो कृति रोचक घोचकका साथै पठनीय र मननीय छ ।
कृति : थुनिएको जिन्दगी
विधा : कविता सङ्ग्रह
कवि : उद्धवहरि अधिकारी
प्रकाशक : भुँडीपुराण प्रकाशन
प्रकाशन : २०७९
पृष्ठ : १३६
मूल्य :रु. २००।–