दोलखा समाचारदाता
चरीकोट, फागुन २४ गते । सडकको ट्र्याक खोलिएको दुई दशकपछि दोलखाको मुढे–मेलुङ सडकखण्डको देउराली–अँधेरीखोला १० किलोमिटर सडक कालोपत्रे हुने भएको छ। तत्कालीन जिल्ला विकास समिति हुँदा करिब २३ वर्षअघि ट्र्याक खोलिएको यो पुरानो सडक स्थानीयवासीको लामो प्रयासपछि कालोपत्रे हुन लागेको समाजसेवी मोहनसिंह तामाङले बताउनुभयो।
उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले सुरु गरेको सडक पछिल्ला पुस्ता आउँदा पिच हुने भएको छ। यो अवधिमा हामीले धेरै कठिनाइ भोग्यौँ।” उहाँका अनुसार यो सडकसँग प्रभावित सैलुङको वडा नं. ३, ५, ६, ७, ८ र मेलुङ गाउँपालिकाको ३ नम्बर वडाका स्थानीय सहभागी बनेर सडक नबनेसम्म आन्दोलन जारी गरिएको थियो।
गत चुनावमा जसले यो सडक स्तरोन्नति र कालोपत्रे गरिदिन्छ उसैलाई भोट दिन्छौँ भन्ने अभियान पनि सञ्चालन गरिएको थियो। गत वर्ष कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ। १० किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रेका लागि ३१ करोड ५४ लाख २६ हजार रुपियाँको सम्झौता भएको छ। सो सडकखण्डको अहिले पाँच किलोमिटरमा काम भइरहेको छ। यो खण्ड सम्पन्न गरेपछि लगातार बाँकी भागमा काम हुनेछ।
करिब छ महिनाको अवधिमा ६० प्रतिशत काम भइसकेको छ। २०८२ साल वैशाख १५ गते १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गरिसक्ने सम्झौता भए पनि अगाडि नै सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो। अहिले कटिङ, मेसेनरी वाल, ग्याबिन जाली, नालालगायतका काम भइरहेका छन्। मेसिनरी वाल आठ हजार घनमिटर, ग्याबिन साढे सात हजार घनमिटर, प्लम्प ढलान चार हजार घनमिटर र कल्भर्टसमेतका काम रहेका छन्। यी काम सकेपछि कालोपत्रे सुरु गरिने कम्पनीले जनाएको छ।