• १९ असार २०८१, बुधबार

होली मनाउने परम्परागत शैली लोप हुँदै

blog

कपिलवस्तु नगरपालिका –६ मा थारु महिला होलीको गीत गाउँदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, फागुन २३ गते । कपिलवस्तुसहित विभिन्न जिल्लामा होलीको परम्परागत स्वरूप र शैली लोप हुँदै गएकोमा समाजका बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।  होली मनाउने परम्परागत शैली लोप हुँदै जाँदा आगन्तुक होली देखिन थालेको र प्रदर्शनमा होली सीमित हुन थालेको जानकारको बुझाइ छ । 

अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले परम्परागत होली लोप हुने अवस्थामा पुगेको र पहिलेको जस्तो होलीको मौलिकता अब केही पनि बाँकी नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उहाँले शहरबजारमा होलीको दिन मात्र मौलिक रहेको र बाँकी सबै कुरा परिवर्तन भएर आगन्तुक संस्कृतिले घर जमाएको बताउनुभयो । 

होलीलाई बजारीकरण गर्ने, होलीबाट फाइदा लिने तर होलीको मौलिक संस्कृति जोगाउनतिर कसैको ध्यान नगएको अधिकारकर्मी ठाकुरको बुझाइ छ । सहित्यकार पशुपतिमणि त्रिपाठीले होलीको मौलिकता हराउँदै गएर अब अबिर दल्ने, मासु र रक्सी खाने तथा डिजेमा बलजफ्ती नाचेको अभिनय गर्ने संस्कृतिको विकास भएको बताउनुभयो । 

अवधी, भोजपुरीमा बजाइने बाजाहरू ढोलक, हरमुनिया, तबलालगायतको बाजा र होलीमा गाइने परम्परागत गीतहरू अहिलेको पुस्ताले छाड्दैगएका छन् । होलीको बेला गाइने मूल होली गीत र अवधि होली गीत जनजिब्रोबाट हटिसकेको त्रिपाठीले बताउनुभयो । 

होलीको भेषभूषा, हाँस परिहाँस, होलीको गीतमा पाइने व्यङ्ग्य तथा सामाजिक सम्मिलन बिस्तारै पातलिँदै गएको भन्दै समाजमा चिन्ता व्यक्त गरिन थालिएको छ । होलीको मौलिकता हराउँदै गएर डिजेमा सीमित भएको हुँदा डिजे संस्कृतिले होलीलाई बरालिरहेको आरोप लगाएका छन् । 

गाउँ गाउँका युवाले घर–घरबाट गुइँठा सङ्कलन गरी बालेर राति गीत गाइने चलन थियो । होलीको एक दिन पहिले ठाउँ ठाउँबाट चोरिएका दाउरा एक ठाउँमा जम्मा गरी गाउँको पूर्व राति जलाएर होलिकाको दहन गर्ने चलन रहेको अवधी संस्कृतिका जानकारको भनाइ छ ।  तराई–मधेशमा फागुपूर्णिमाको दिन होलिका दहन गर्ने र भोलिपल्ट होली खेल्ने चलन थियो, जुन आजसम्म छँदैछ तर पहिलेको जस्तो होली गाउँमा पनि नरहेको भन्दै समाजले होलीको मौलिकता जोगाउन नसकेको भन्दै चिन्ता गर्नेगरेको स्थानीयको बुझाइ छ ।