• १३ असोज २०८१, आइतबार

जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

blog

मृगौलासम्बन्धी बिरामीले डायलाइसिस गर्दै ।

मीना कँडेल

कावासोती, फागुन २३ गते । पूर्वी नवलपरासीकोे मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि जनशक्तिसँगसँगै पूर्वाधारको समस्या भएको हो ।

जिल्लाभित्रका मृगौलासम्बन्धी बिरामीलाई डायलाइसिसका लागि चितवन र काठमाडौं जानुपर्ने बाध्यता थियो । जिल्लाभित्रका रोगीहरुलाई बाहिर जिल्ला जानुपर्ने बाध्यता तथा आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने पीडा बढ्दै गएको छ । जिल्लाकै मध्यबिन्दु जिल्ला अस्पतालमा गत मङ्सिर १३ गतेदेखि मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सुरु गरिएपछि मृगौला पीडितहरुले राहत पाएका थिए । 

अहिले जनशक्तिको अभावमा एक सिफ्टमा मात्रै सञ्चालनमा आएको छ । डायलाइसिस गर्नुपर्ने ७० जना बिरामी सम्पर्कमा आएको भए पनि जनशक्तिको अभावमा एक सिफ्टमा नौ जनालाई मात्र सेवा दिएको अस्पतालले डायलाइसिस गर्ने चार वटा मेसिनमध्ये तीन वटाबाट एक सिफ्ट मात्रै सेवा दिन सुरु गरेको हो ।

विगत ११ वर्षदेखि मृगौला प्रत्यारोपणका लागि मृगौला नपाएर डायलाइसिस गराउँदै आएकी देवचुली ६ निवासी ५८ वर्षीय चित्रकुमारी मल्लले आफ्नै जिल्लाको सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

१५ शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भएपनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका र बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा दिँदै आएको सुवेदीले बताउनुभयो ।