बाबुराम देवकोटा
दुधौली (सिन्धुली), फागुन २३ गते । सिन्धुली जिल्लाको कमला नदीमा मात्रै करिब ४० किलोमिटर बहाव क्षेत्रमा छवटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् भने एउटा निर्माणाधीन अवस्थामा छ।
एक दशकको अवधिमा कमला नदीमा करोडौँ रुपियाँको लागतमा निर्माण भएका पक्की पुलैपुल देख्दा स्थानीय कमलाखुँजवासी दङ्ग परेका दुधौली नगरपालिका–२ निवासी हेम अधिकारी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “कमला नदीमा पक्की पुल त के! झोलुङ्गे पुलसमेत नहुँदा बर्सेनि यस क्षेत्रका
बासिन्दाले समयमा उपचार नपाएर ज्यान गुमाउँदै आएका थिए। बर्सातको समयमा यातायातका साधन बन्द हुँदा निकै सास्ती बेहोर्नु पथ्र्यो, अहिले त पुलैपुल बनेका छन्।”
स्थानीय अधिकारीले पहिलेको दुःखको स्मरण गर्दै भन्नुभयो, “बर्सातको मौसममा साह्रोगाह्रो पर्दा जोखिम मोलेर दनुवारलाई पैसा तिरेर कमला नदी वारपार गर्दथ्यौँ।” दनुवारलाई पैसा तिरेर वारपार गर्ने क्रममा आफ्नो छोरी नदीले बगाएको र बल्ल बल्ल बचाएका थिए।
अहिले कमला नदीमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने चार सय मिटर लम्बाइको भिमान पुल निर्माणाधीन अवस्थामा छ। त्यस्तै बीपी राजमार्गअन्तर्गतको माईस्थान पुल, मदन भण्डारी राजमार्गअन्तर्गतको झुङ्गा पुल, दुधौली नगरपालिका– ३ र ४ नं. वडालाई जोड्ने डकाहा पुल, दुधौली नगरपालिकाकै वडा नं. ५ र ६ लाई जोड्ने खनियाँ पुल, वडा नं. ९ तथा ११ लाई जोड्ने छतिवन पुल र दुधौली नगरपालिका–११ र उदयपुरको बेलसोतलाई जोड्ने धनसरी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।
कमलामाई नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष कैलाश ढुङ्गेलका अनुसार बागमती प्रदेश सरकारको करिब १७ करोड रुपियाँको लागतमा भिमान पुलको निर्माण एक वर्षभन्दा बढी समयदेखि निर्माण भइरहेको छ। निर्माण सुरु गरेको मितिले ३० महिनामा सक्ने गरी पुल निर्माणको ठेक्का पाएको छ। पुल निर्माणसँगै स्थानीयमा खुसी छाएको उहाँले बताउनुभयो।
दुधौली नगरपालिका–११, टा“डीबाट वडा नं. ९ को हात्तीवन–गा“छी जोड्ने पुल ७८ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ। कमला नदीमा पुल नभएर सास्ती खेपेका स्थानीय तीव्र गतिमा निर्माण भइरहेको पुल देखेर उत्साहित बनेको दुधौली नगरपालिका–१ का वडाध्यक्ष रितेश राउत बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “हिजोका दुःखका कहालीलाग्दो दिन सम्झिँदा आङ सिरिङ्ग हुन्छ र पुल निर्माण भइरहेको देखेर खुसीको सञ्चार छाएको छ।” उहाँका अनुसार कमला नदीमा पक्की पुलैपुल बनेसँगै स्थानीय जनजीवन सहज भएको छ। बाह्रै महिना यातायातका साधन सञ्चालनमा आउँदा उपभोग्य वस्तु ढुवानी र कृषि उपज बेचबिखनमा पनि सजिलो भएको छ।