• २३ असार २०८१, आइतबार

खडेरीले बाली सुक्यो

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, फागुन २२ गते । हिउँदमा वर्षा नहुँदा अन्नबाली सुक्न थालेको छ। सिँचाइको अभावमा अन्न बाली सुक्दा किसान चिन्तित भएका छन्। हिउँदे बाली लगाएदेखि हालसम्म पर्याप्त वर्षा हुन सकेको छैन।  खेतबारीमा रोपेका हिउँदे बाली गहुँ, जौ, आलु, साग तथा गेडागुडीलगायत तरकारी बाली घामले सुक्न थालेका छन्। हिउँद सिजनमा पनि हिउँ नपरेपछि लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा फागुन महिनामा पनि अझै चिसो उत्तिकै छ। 

असोज–कात्तिकमा लगाइएको हिउँदे बाली वर्षा नहुँदा सुक्न थालेको भूमे गाउँपालिका–२, गाबाङका जुनकुमार रोकामगरले बताउनुभयो। जिल्लास्थित कृषकका खेतबारीमा गहुँ, जौ लगाइएको छ। 

यस जिल्लामा हिउँदे बाली गहुँ र जौ प्रमुख बाली हो भने बर्खे बालीमा मकै, आलुलगायत तरकारीजन्य बाली हुन्। “यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन सुरु हुने भएका छन्। भोकमरीको समस्या बढ्ने भयो,” रोकामगरले भन्नुभयो, “घरपरिवार पाल्नका लागि खेतीपातीमा निर्भर हुनुपर्छ। आकाशे पानीको भरमा रहेका हामी किसानलाई थप चिन्ता थपिएको छ।” 

आम्दानीको अन्य स्रोत नभएका तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ। सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन्।

पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन गाउँपालिका गरी एक लाख १३ हजार ५२३ हेक्टर जमिनमध्ये कृषियोग्य जमिन २० हजार २६५ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ सब–डिभिजन कार्यालय रुकुमपूर्वले जनाएको छ। छिटपुटबाहेक खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको छैन।