• १५ असार २०८१, शनिबार

खोटो बन्यो सामुदायिक वनको आम्दानी

blog

लीलाधर वली 

घोराही, फागुन २२ गते ।  दाङमा सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखाैँ रुपियाँ आम्दानी गर्ने गरेका हुन्।  योसँगै बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्नाले गर्मी मौसममा डढेलोका कारण सल्ला मर्दै जाने समस्या पनि रहेको छ। वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै गाउँका लागि खानेपानीलगायत सामाजिक कार्यमा लगाउने गरेका छन्। 

बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले आफ्नो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजारसम्म मूल्यको खोटो बिक्री गरेको जानकारी दिनुभयो।  सो समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रुपियाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ। सल्लाका रुखबाट कम्पनीले प्रतिकेजी १२ रुपियाँका दरले खोटो खरिद गर्दा स्थानीय तहलाई राजस्वसमेत तिर्ने गरेको छ। 

सचिव गाहामगरले भन्नुभयो, “वन समूहले अनुमति दिएपछि कम्पनीले जङ्गलमा खोटो 

सङ्कलन गर्ने गर्दछ।” खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्यो भने रुखलाई असर गर्ने उहाँले बताउनुभयो। 

सल्लाको रुखबाट कम्तीमा पनि आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ। वैशाख–जेठ महिनादेखि मङ्सिर–पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ। चिसो मौसममा कम खोटो आउने गरेका कारण गर्मी मौसममा खोटो सङ्कलन हुने गरेको छ।

यस जिल्लामा १० वटा समुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन हुने गरेको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष करिब नौ लाख ३९ हजार २७ रुपियाँको  खोटो निकासी भएको छ। ७८ हजार केजी सल्लाको खोटो निकासी भएको छ। 

खोटो तारपिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ। जसले गर्दा केही वर्षदेखि दाङका पहाडी क्षेत्रमा रहेका वनबाट सल्लाको खोटो निकाल्ने गरेको स्थानीयवासी बताउँछन्। सल्लाको खोटो बल्ने पदार्थ भएकाले आगो लाग्यो भने सोझै रुखको घाउमा आगो पसेर रुख मर्ने गर्दछ। रुखबाट आम्दानी लिने वन समूहकै सदस्यले सल्लालाई आगोबाट बचाउन ध्यान दिनुपर्ने सुझाव दिएका छन्।