• १३ मंसिर २०८१, बिहिबार

कारागारमा छैन शौचालयको निकास

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन २२ गते । मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीस्थित भीमफेदी कारागारमा शौचालयको उचित निकास नहुँदा कैदीबन्दीसहित कारागार प्रशासनले विगत लामो समयदेखि समस्या बेहोर्दै आएको छ। 

कारागारमा शौचालयको संरचना पर्याप्त सङ्ख्यामा भए पनि शौचालयमा जम्मा हुने मानव मलमूत्रलगायतको फोहोर निकासका लागि उचित व्यवस्था नहुँदा वर्षौंदेखि समस्या हुँदै आएको हो। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कारागारको अनुगमनका क्रममा कारागार प्रशासनले शौचालयबाट निस्कने फोहोर व्यवस्थापन गर्न ढल वा उचित निकासको आवश्यकता देखिएको बताउनुभयो। 

कारागारका अधिकृत मदन लामा थिङले शौचालयबाट निस्कने फोहोर व्यवस्थापन लामो समयदेखि पेचिलो बन्दै गएको भन्दै मन्त्री श्रेष्ठलाई तत्काल समस्याको सम्बोधनका लागि माग गर्नुभयो।

कारागारको शौचालयबाट निस्कने मलमूत्र खुला रूपमा छोड्दा वातावरण प्रदूषण हुँदै गएकाले तत्काल मलमूत्र व्यवस्थापनका लागि वैकल्पिक ऊर्जा (बायो ग्यास) प्लान्ट स्थापना गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न अधिकृत लामाले सुझाउँदै यसका लागि प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो। 

यस्तै कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भए पनि लामो समयदेखि कर्मचारी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको छ। कारागारमा स्वास्थ्यका पाँचौँ र छैटौँ तहका कर्मचारीको दरबन्दी छ तर कर्मचारी नआउँदै औषधोपचारका लागि कारागारबाट २३ किलोमिटरको दूरीमा सदरमुकाम हेटौँडामा रहेको हेटौँडा अस्पतालमा कैदीबन्दीलाई पु-याउनुपर्ने बाध्यता छ। उहाँले भन्नुभयो, “पहिले भएका कैदीबन्दीभन्दा अहिले सङ्ख्या बढेको छ तर बजेट भने घटेर आउँछ, नियमित खर्च धान्नसमेत धौ–धौ छ।” एक हजार १५० कैदीबन्दी क्षमता रहेको भीमफेदी कारागारमा ९८० पुरुष, २० महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन्।

कारागारमा रहेकामध्ये ६२ जना विदेशी नागरिक छन्। गत दुई महिनाअघिबाट महिला कैदीबन्दी कारागारमा राख्न थालिएको हो। सवारीसाधन र इन्धनको समस्या उस्तै छ। अदालतमा बयान वा हाजिरका लागि हेटौँडासम्म पु-याउन इन्धन र सवारीसाधनको समस्या खेप्दै आएको अधिकृत थिङले कारागार निरीक्षणमा आउनुभएका मन्त्री श्रेष्ठलाई सुनाउनुभयो। कैदीबन्दीले खाना पकाउनेलगायतका काममा विद्युत् खपत गर्दै आएका छन् तर केन्द्रबाट विद्युत् खपत घटाउन र खर्च कटौती गर्न भन्दै आएको अधिकृत थिङले बताउनुभयो।