• ११ असोज २०८१, शुक्रबार

प्राविधिक शिक्षालय स्थापना गरिँदै

blog

काठमाडौँ, फागुन २२ गते । कीर्तिपुर नगरपालिकाले आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । नगरपालिकाको वडा नं. ९ मा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरी उक्त केन्द्रमा प्राविधिक शिक्षा पठनपाठन गराउन लागेको हो । प्राविधिक  शिक्षालयमा अटोमोबाइल  इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ तीनवर्षे डिप्लोमा कोर्स सञ्चालन गरिनेछ । नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरपालिकाको आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गरी पठनपाठन गराउन लागिएको जानकारी दिनुभयो ।  

उहाँका अनुसार प्राविधिक शिक्षा केन्द्र स्थापना र सञ्चालन गर्न कार्यविधि निर्माण गर्ने कार्यपालिकाले निर्णय गरिसकेको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्यापन गराउन भवन भाडामा लिएर अन्य व्यवस्थापन गरी पठनपाठन सुरु गर्नेछ । उहाँले भन्नुभयो, “नगरपालिकाले प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षा अध्यापन गराउन लागेका हौँ ।”