• १३ साउन २०८१, आइतबार

शहीदको सपना साकार पार्न सबै लागौँ : सभामुख घिमिरे

blog

कार्यक्रममा सभामुख देवराज घिमिरे । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २१ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदको सपनालाई साकार पार्न सबै लाग्नु पर्ने बताउनुभएको छ । उहाँले शहीदले गरेको बलिदानी र देखेको सपनाअनुसार जनताको जीवनमा अनुभूत गर्नेगरी काम गर्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो । 

५० वर्षअघि आजकै दिन फागुन २१ गते झापा र इलामको संगमस्थल इलामको सुखानीमा मारिएका पाँच शहीदको सम्झना गर्दै उहाँले शहीदका सपनालाई पूरा गर्न एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

झापाको बिर्तामोडमा हीन फाउन्डेशनले प्रकाशन गरेको झापा परिचय स्मारिकाकाको विमोचन गर्नुहुँदै सभामुख घिमिरेले राजनीतिक उपलब्धि हासिल भए पनि जनताको जीवनयापनमा परिवर्तन ल्याउन बाँकी रहेको बताउनुभयो । राजनीतिक परिवर्तनसँगै अब जनताको जीवनपद्धतिमा पनि परिवर्तन गर्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।

राजनीतिक उपलब्धिको रक्षा गर्दै जनताको जीवनस्तर उकास्ने काममा अब सबैको ध्यान जानुपर्छ, घिमिरेले भन्नुभयो । शहीदले देखेको सपना र गरेको त्यागअनुसार जनतालाई सुखी बनाउन बाँकी नै रहेको घिमिरेले चर्चा गर्नुभयो । निरङ्कुशता अन्त्यगरी प्रजातन्त्र ल्याउन बलिदानी दिएका शहीदलाई कहिल्यै भुल्न नसकिने उहाँले बताउनुभयो । 

सभामुख घिमिरे शनिबार गृह जिल्ला झापा आउनुभएको हो । उहाँ झापा तथा आफू निर्वाचित भएको क्षेत्र २ का विभिन्न कार्यक्रममा सहभागी बन्नुभएको छ । केही धार्मिक कार्यक्रममा समेत उहाँ सहभागी रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।