सिराज खान
नेपालगञ्ज, फागुन २१ गते । देशको सङ्घीय राजधानी काठमाडौं बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । सो सेवा काठमाडौंका तीन वटा मात्र निजी अस्पतालमा रहेको जनाउँदै काठमाडौं बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याइएको वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो ।
उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अति गम्भीर बिरामीले उपचारका लागि काठमाडौं वा भारतको लखनउ जानु पर्ने छैन । ती ठाउँमा पाइने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’ डा. थापाले भन्नुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. थापाका अनुसार यस्तो सुविधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिर पहिलो निजी अस्पताल मानिएको छ । सो सेवा अन्तर्गत आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै चौबिसै घण्टा क्रिटिकल केयर कन्सल्टेन्ट चिकित्सक पनि डिउटीमा रहने व्यवस्था मिलाइएको छ ।
सोही प्रकारले आइसियुमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूको बारेमा जानकारी दिनका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार हेल्थ इन्डिकेटर इन्फरमेसन सिस्टम मिलाइएको आइसियु युनिटका प्रमुख डा. पारस पाण्डेले बताउनुभयो ।
उपचार सेवालाई थप प्रभावकारी बनाउन सो अस्पतालले काठमाडौंको टिचिङ, ह्याम्स र ग्रान्डीजस्ता सुविधा सम्पन्न अस्पतालको आइसियु विभागमा लामो समय काम गरेका चिकित्सक र नर्ससँग सहकार्य गर्दैआएको अस्पतालले जनाएको छ ।
यसैगरी वेष्टर्न अस्पतालले ८ बेडको लेभल ३ आइसियु सेवासँगै ६ बेडको एचडियू सेवा पनि सुरु गरेको छ । आइसियुबाट स्वास्थ्य उपचार गराएर बिरामीलाई एचडीयुमा राख्नका लागि सो सेवा पनि सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. थापाले बताउनुभयो । लेभल ३ को आइसियुमै डायलिसिस सेवा पनि रहेको उहाँले बताउनुभयो ।
अस्पतालमा ६ वटा भेन्टिलेटरसहित अत्याधुनिक उपकरण रहेका छन् । केही दिनमै ६ बेडको एनआइसियु सेवा पनि सञ्चालन गरिने जनाइएको छ । आइसियुलगायतका सुविधा थप गर्न करिब ५ करोडको लगानी गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
१०० बेडको सो अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसूति तथा स्त्रीरोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरिलोजीसम्बन्धी सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निकट भविष्यमै बाल रोग, मानसिक रोग, न्यूरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।