• १३ मंसिर २०८१, बिहिबार

मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार

blog

लक्ष्मण पौडेल

भैरहवा, फागुन २१ गते । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । 

यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा तयार भएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोड्ने गरी प्रसारण लाइन बनाइएको हो । 

मुलुकमा उत्पादित विद्युत् भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको हो । “भारतसँग विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन निर्माण सकिएको छ,” आयोजना प्रमुख हरिप्रसाद पाण्डेले भन्नुभयो ।

मुआब्जासहित ९३ करोड रुपियाँ लागतको यो आयोजनाबाट १८० देखि दुई सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री गर्न सकिने प्रसारण लाइन आयोजनाका इन्जिनियर भारत थापाले बताउनुभयो ।  

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया–सम्पत्तिया सुरु भएपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत्् व्यापार थप सहज बन्नेछ । आयोजनाका अनुसार अबको भारतीय पक्षले जति छिटो आफूतर्फको काम सक्छ उति छिटो प्रसारण लाइन सञ्चालन हुन्छ । 

आयोजनाका अनुसार प्रसारण लाइनअन्तर्गत सबस्टेसनको थोरै प्राविधिक काम मात्र बाँकी छ । प्रसारण लाइनका लागि आवश्यक पर्ने ९६ टावर निर्माण भइसकेका छन् । निर्माण भएका टावरमा तार तान्ने काम पनि सकिएको इन्जिनियर थापाले बताउनुभयो । “हामीले दु्रत गतिमा नेपालतर्फको काम सकेका छौँ । भारततर्फको काम सकियो भने प्रसारण लाइन सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो ।

विवादित जग्गाको मुआब्जा दिन बाँकी

२८ किलोमिटर लामो प्रसारण लाइन विस्तारका क्रममा एक हजार सात सय व्यक्तिको जमिन परेको छ । प्रसारण लाइन निर्माण क्षेत्रमा जग्गा परेका स्थानीयवासीलाई मुआब्जा र क्षतिपूर्ति दिने काम भइरहेका बेला यसअघि सरकारले जग्गा कित्ताकाट रोक्दा आयोजनामा असर पुगेको थियो । 

“स्थानीयले पहिला मुआब्जा र क्षतिपूर्ति पाउनुपर्ने माग राख्नुभएको थियो । केही मुआब्जा पनि दिइसकेका छौँ । विवादित जमिनको मुआब्जा दिन बाँकी छ,” उहाँले भन्नुभयो ।

सरकारले यसअघि ल्याएको भू–उपयोग नीतिमा साढे दुई कट्ठाभन्दा थोरै जग्गाको कित्ताकाटमा रोक लगाइएको थियो । त्यसले आयोजना निर्माणमा झमेला आएको थियो । 

आयोजना प्रमुख पाण्डेले भन्नुभयो, “नेपाल–भारत विद्युत् आयात–निर्यातमा सहजता ल्याउन यो निकै महत्वपूर्ण योजना हो । त्यसैले आयोजनालाई महत्वका साथ अगाडि बढायौँ ।” अहिले स्थानीयवासीको विवादित जमिनमा मुआब्जा दिन कठिन छ । आयोजनाका कारणभन्दा पनि आपसी जग्गाधनीबीचको विवादले मुआब्जा वितरण रोकिएको हो । 

भारततर्फ काम सुस्त

भारततर्फको काम भारतीय सरकारले नै गरिरहेको छ । भारतको सम्पत्तियामा पनि सबस्टेसन बनिरहेको छ । भारततर्फ निर्माणको काममा ढिलाइ भइरहेको आयोजनाका अधिकारी बताउँछन् । भारतले आफ्नोतर्फको काम सम्पन्न गर्न अब छ महिनादेखि एक वर्षसम्म समय लाग्ने जनाएको छ । भारततर्फको काम सकिनेबित्तिकै विद्युत् प्रवाह गर्न सकिनेछ ।