• १३ मंसिर २०८१, बिहिबार

रोकियो कालोपत्रे, काम गुणस्तरहीन भएको आशङ्का

blog

लिलाधर वली

घोराही, फागुन २० गते । लामो समयदेखि अलपत्र रहेको घोराहीको भानुचोकदेखि–गुलरिया पार्कसम्म सडक कालोपत्रे गर्ने काम फेरि रोकिएको छ। सडक निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक कालोपत्रे गर्न थालेको आशङ्का भएपछि घोराही उपमहानगरपालिकाले कालोपत्रे निर्माणको काम तत्काललाई रोकेको हो।

सडक कालोपत्रे गर्ने क्रममा सडकको लेबलिङ (तह) नमिलेको र कालोपत्रे गरिएको सडकमा गिट्टीहरू नमिलेपछि परीक्षणका लागि तत्काललाई काम रोकिएको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो। “सडक कालोपत्रे गरेपछि चिल्लो र लेबलिङ मिल्नुपर्छ तर सकडको लेबलिङ नै भएन,” पूर्वाधार महाशाखा प्रमुख पौडेलले भन्नुभयो।

कालोपत्रेको एउटै प्रविधिअनुसार दामोदरचोकदेखि नयाँबजार आर्मी ब्यारेकसम्म कालोपत्रे गर्दा सडक राम्रो भए पनि त्यही प्रविधिअनुसार उक्त सडकमा काम गर्दा सडक राम्रो नदेखिएको उहाँले बताउनुभयो। यसले गर्दा सडकको गुणस्तरमा आशङ्का उत्पन्न भएको हो। सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले पाएको थियो। दुई करोड ३१ लाख ५५ हजार ३६० रुपियाँमा गत वर्षको असार महिनामा सक्ने गरी ठेक्का सम्झौता गरे पनि ठेकेदारको चरम लापरबाहीका कारण लामो समयदेखि सडक निर्माणको काम रोकिँदै आएको छ। सोही निर्माण कम्पनीकै लापरबाहीका कारण घोराही बजारकै शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैङ्कदेखि शहीद गेटसम्मको सडक पनि अलपत्र परेको छ। 

आत्रेय/पूर्णचन्द्र/बस्नेत जेभीले नाला र फुटपाथ तथा वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्ने कामको जिम्मा पाएको थियो। गत असारसम्ममा सक्ने गरी वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले जिम्मा लिए पनि अहिलेसम्म सडक कालोपत्रे गर्ने काम सकेको छैन। निर्माण कम्पनीले एक करोड १५ लाख ३४ हजार ९२४ रुपियाँमा काम गर्ने गरी २०७७ माघ ८ गते सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकेदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनसँगै व्यवसाय गर्ने व्यवसायी र पैदल हिँड्नेलाई समेत समस्या हुने गरेको छ।