रेखीराम राना
पाल्पा, फागुन २० गते । जिल्लाको पूर्वी भेगस्थित जमलेघाट पुलको निर्माणमा ढिलाइ भएको छ। पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी काष्ठमण्डप–त्रिपुरा जेभी कम्पनीले थपिएको म्याद सकिने बेलासम्म पनि काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ।
डेढ वर्षभित्र जमलेघाटको पुल निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७७ पुस २८ गते कम्पनीसँग सम्झौता भएको थियो। कम्पनीले समय अवधिभित्र काम नगरेपछि पुनः म्याद थप गरेको थियो तर थप भएको म्याद सकिन दुई महिना बाँकी रहँदासम्म पनि निर्माण कम्पनीले काम गर्ने सुरसार गरेको छैन। ठेकेदारले दुई वर्षको अवधिमा पुलको दुईवटा पिल्लरको काम पनि सम्पन्न गर्न नसकेको स्थानीय बासिन्दा मनबहादुर सारूले गुनासो गर्नुभयो। “सम्झौताअनुसार पुल बनेर सकिनुपर्ने हो,” सारूले भन्नुभयो, “तर अहिलेसम्म पनि ठेकेदारले काम गर्ने छाँट देखाएको छैन।”
जिल्लाको हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डमा पर्ने उक्त पुल समयमै सम्पन्न नहुँदा यस क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। हिउँदको तीन महिना जसोतसो सवारीसाधन खोलाबाटै तारिने स्थानीय उपभोक्ताको भनाइ छ तर वर्षात्को समयमा र निस्दी नदी ठूलो भएको बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा खेमबहादुर सारूले बताउनुभयो।
सारूले भन्नुभयो, “पक्की पुल समयमै बन्न नसक्दा झोलुङ्गे पुलबाट साना सवारी बाइक, स्कुटी तार्छौं, ठूला सवारीसाधन भने छ महिनासम्म निस्दी खोला तर्ने अवस्था पनि रहँदैन।”
जमलेघाटमा पुल नहुँदा ज्यामिरे, अर्चले, सिलुवा, रिङ्नेरहका बासिन्दा हिँडेर यात्रा गर्न बाध्य छन्। निस्दी नदी तरेर वर्सात्को समयमा ठूला सवारीसाधन चल्ने अवस्था नहुँदा ज्यामिरे, अर्चलेका बासिन्दा सदरमुकाम जान हिँड्नुपर्ने बाध्यता रहेको निस्दी–७, ज्यामिरे टोलका स्थानीय बासिन्दा रामबहादुर विकले गुनासो गर्नुभयो। पुल बनेको खण्डमा हिउँद र वर्सात्को जुनसुकै समयमा पनि तानसेन, रामपुर, बुटवल, जान र आउन सहज हुने उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारको तीन करोड ४९ लाख दुई हजार ४१९ रुपियाँमा पुल निर्माण गर्न ठेकेदारसँग सम्झौता भएको थियो। पुल निर्माण समयभित्र गर्नका लागि जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले ताकेता गर्दासमेत निर्माण कम्पनीले अटेर गरेको छ। विभिन्न स्थानमा पुल निर्माण गर्ने जिम्मेवारी लिँदा समयमै काम गर्न नसकेको पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो। पछिल्लो पटक ताकेता गरेपछि निर्माण व्यवसायीले पुल निर्माणको काम सुरु गर्न थालेको उहाँले बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले जमलेघाट पुल निर्माणमा ठेकेदारले लापरबाही गरेको बताउनुभयो। निर्माण व्यवसायीका कारण यस क्षेत्रका सर्वसाधारणले सास्ती बेहोर्नु परेको उहाँले उल्लेख गर्नुभयो।