• १३ मंसिर २०८१, बिहिबार

ठेला व्यापारबाट मासिक ६० हजार आम्दानी

blog

नेपालगञ्जको सुर्खेतरोडमा ठेलामा फलफूल तरकारी बिक्री गर्दै आविद । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, फागुन १९ गते । नेपालगञ्ज नाका भएर दैनिक सयौंको सङ्ख्यामा नेपाली युवाहरु रोजगारीका लागि भारत जान्छन् । तर सीमावर्ती भारतको नानपाराका आविद खान  रोजगारीका लागि नेपालगञ्ज आउनुभएको छ । नेपालगञ्जका सडकमा ठेलामा फलफूल बिक्री वितरण गर्दैआएका खान फलफूल विक्रीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।   

“थोरै रकमबाट फलफूल बिक्री वितरण सुरु गरेको हुँ” करिब सात वर्षदेखि नेपालगञ्जमा यो कारोबार उहाँ गर्दै आउनुभएको छ । २० वर्षीय खानले भने, “घर नजिकै छ, आम्दानी पनि राम्रो छ ।”

दैनिक करिब १० देखि १२ हजार रुपियाँको फलफूल विक्री भइरहेको उहाँले बताउनुभयो ।  चाडपर्वको समयमा २५ देखि ३० हजार रुपियाँसम्मको फलफूल विक्री हुनेगरेको खानले बताउनुुभयो । फलफूल विक्रीबाट सामान्यतया दैनिक दुई हजार रुपियाँभन्दा बढी आम्दानी हुनेगरेको छ । 

चाडपर्वको समयमा तेब्बररसम्म आम्दानी हुनेगरेको खानको भनाइ छ । मासिक ६० हजार रुपियाँभन्दा बढी आम्दानी हुनेगरेको खानको भनाइ छ । फलफूल विक्रीबाट हुने आम्दानीबाट घरमा भाइबहिनीको पढाइ तथा घरको अन्य खर्चका लागि सहयोग पुग्नेगरेको उहाँले बताउनुभयो ।  

काम सानो र ठूलो नहुने भन्दै खान नेपालगञ्जको सडकमा सात वर्षदेखि फलफूल विक्री गर्ने क्रममा नेपालसँगको सम्बन्ध पनि प्रगाढ बनेको बताउनुभयो । खान मात्रै नभएर सीमावर्ती भारतीय बजार तथा शहरी क्षेत्रबाट ठेलामा व्यवसाय गर्ने, उद्योग कलकारखानामा काम गर्न तथा साइकलमा तरकारी लिएर विक्री वितरणका लागि दैनिक धेरै भारतीय आउनेगरेका छन् ।