• ३१ वैशाख २०८२, बुधबार

राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध बनाएर जान आवश्यकः अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौंं, फागुन १८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको  प्रवर्द्धन , देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित आठदलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रका सामु अनेकन चुनौती आइरहेको उल्लेख गर्नुहुँदै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध बनाएर जान आवश्यक भएको धारणा औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने कुरा केन्द्रबिन्दुमा राख्नुपर्छ । संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौती आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरुलाई एकताबद्ध भएर जानुपर्छ । यो कुरा राख्दै उहाँको प्रस्तावक म आफैँ भएकाले उहाँको विजयको शुभकामना दिन चाहन्छु ।’’

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गर्नुभयो ।