• २ जेठ २०८१, बुधबार

छाडा चौपाया धपाउन जाग्राम

blog

तौलिहवा समाचारदाता

तौलिहवा, फागुन १८ गते । छाडा चौपायाबाट बाली जोगाउन यहाँका कृषक खेतमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हिउँदे बालीका रूपमा कृषकहरूले लगाएको गहुँ बालीलाई छाडा चौपायाबाट जोगाउन वाणगङ्गा नगरपालिका–५ का झन्डा, बैकुण्ठपुर, सातमाने, लोरी बगिया, खुटेनी, मधैलियालगायत गाउँमा अस्थायी छाप्रो बनाएर जाग्राम भई बस्ने गरेको कृषक छविलाल खनालले बताउनुभयो। 

त्यस्तै बुद्धभूमि नगरपालिका–५, पकरेहटा, पकरेहटी, कोटिहवा, कचरिहवा, मोहम्मदनगर, दरखसवालगायत गाउँका कृषक खेतमै अस्थायी छाप्रो बनाएर रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय कृषक कमलेश ठाकुरले बताउनुभयो।

सम्बन्धित निकायले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा कृषकलाई वर्षभरि खाने अन्न बाली जोगाउनै धौ–धौ भएको छ।  छाडा चौपायाले खेतमा लगाएको पूरै गहुँबाली खाइदिएपछि कृषकले बचेको ठुटो गहुँ नल काटेर भैँसीलाई खुवाउन थालेका छन्। 

बुद्धभूमि नगरपालिका–१० का सुरेन्द्र केवटले छाडा चौपायाका कारण आफूहरूले तयार गरेको तरकारी खाइदिँदा धेरै समस्या भएको बताउनुभयो। मुख्य खेती तरकारी नै रहेकाले छाडा चौपायाले खेतमा लगाएको तरकारी खाइदिँदा जीविका चलाउनै समस्या भएको उहाँको भनाइ छ।

छाडा चौपायाका लागि गौशाला निर्माण गर्न बुद्धभूमि नगरपालिका–९ स्थित गब्दाहामा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरिएको थियो। गब्दाहाको बझिनिया भन्ने राष्ट्रिय वन क्षेत्रभित्र १९५ हेक्टर क्षेत्रमा कान्जी हाउस निर्माण गरिने योजना अगाडि बढ्न सकेको छैन।

जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका र शुद्धोधन गाउँपालिकाले अस्थायी गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गर्दै आए पनि बाँकी स्थानीय तहमा व्यवस्थापन हुन सकेको छैन।