राजु लामिछाने
रुकुमपूर्व, फागुन १६ गते । प्रविधिले मारेको फड्कोसँगै सूचना आदानप्रदानका विभिन्न माध्यम प्रयोगमा आएका छन् तर रुकुमपूर्वका विभिन्न गाउँमा भने सूचना प्रसारणको भरपर्दो माध्यम ‘कटुवाल प्रथा’ नै रहेको छ। कराएर गाउँवासीमा नयाँ सूचना पु-याउने जिम्मेवारी बोकेको कटुवाल प्रथा दुर्गम गाउँहरूमा अहिले पनि निरन्तर छ।
पुथाउत्तरगङ्गा गाउँपालिका–१०, तक गाउँका ५१ वर्षीय बार्से कामीले आफ्नो पुरानो पेसा कायमै रहेको बताउनुभयो। १३ वर्षदेखि निरन्तर तक गाउँको कटुवाल बनेर उहाँले जिम्मेवारी पूरा गरिरहनुभएको छ। गाउँमा हुने सबै सार्वजनिक सूचना गाउँवासीलाई सुनाउने उहाँको जिम्मेवारी छ। “गाउँ, वडा कार्यालय, स्वास्थ्य चौकी, गाउँपालिकासमेतका सूचना म सबैलाई कराएर जानकारी गराउँछु,” कामीले भन्नुभयो, “यसै पेसाले १० जनाको परिवार धानेको छु।” पहिला आफूलाई खबर आउने र आफूले साँझ वा बिहानपख गाउँ सुनसान भएको मौका पारेर सबैले थाहा पाउने गरी सूचना भन्ने गरेको जानकारी दिनुभयो।
पुथाउत्तरगङ्गा गाउँपालिका–१२, कोल गाउँका ६१ वर्षीय शिरबहादुर कामीले पनि गाउँको कटुवालको जिम्मेवारी पूरा गरिरहनुभएको छ। गाउँमा हुने अर्मपर्म, खोप लगाउने, शिविर सञ्चालन हुने, सामाजिक–सार्वजनिक कार्यक्रम हुने सबै खबर उहाँले नै उद्घोष गर्नुहुन्छ। पहिलेदेखि नै चलिआएको चलन र आफ्नो जिम्मेवारी अहिले पनि उसैगरी निभाइरहेको उहाँले बताउनुभयो। परापूर्वकालदेखि नै चलनचल्तीमा आएको हो कटुवाल प्रथा। कटुवाल कराएर सूचना बाँड्ने शैली फेरिएको छैन तर उहाँहरूले पाउने पाश्रिमिक भने फेरिएको छ। पहिलापहिला कटुवाल पेसा अँगालेकालाई घरघरबाट अन्नपात दिने चलन थियो। अहिले भने रुपियाँ दिन थालिएको छ। तक गाउँका कटुवाल कामीले पहिला पहिला छ/छ महिनामा अन्नपात घरैपिच्छे उठाउने गरेको तर दुई वर्षयता नगद रकम उठाउने गरेको बताउनुभयो। तक गाउँमा रहेका करिब चार सय घरबाट छ महिनामा प्रतिघर ३२० रुपियाँ उठाउने गरेको उहाँले जनाउनुभयो।
कोल गाउँका कटुवाल शिरबहादुर कामीले पनि अहिले अन्न छोडेर नगदमै पाश्रिमिक लिने गरिएको बताउनुभयो।
उहाँले कोल गाउँमा रहेका छ सय घरधुरीले वार्षिक दुई सय रुपियाँ दिने गरेको जानकारी दिनुभयो। नगद रकम पाउनुभन्दा पहिला कटुवालहरूलाई मकै, गहुँ, धानलगायतका अन्नपात मौसमअनुसार दिने चलन थियो।
पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढाले दुर्गम गाउँमा कटुवाल प्रथाको अस्तित्व कायमै रहेको बताउनुभयो। परम्परादेखि नै सूचनाको सार्वजनिक उद्घोष गर्ने तथा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कटुवाल भनेर जिम्मेवारी दिने चलन रहिआएको उहाँले उल्लेख गर्नुभयो। उपाध्यक्ष बुढाका अनुसार भरपर्दो सञ्चार सुविधा नभएको, भौगोलिक विकटता रहेको र परम्परादेखि नै चलिआएको पेसा भएकाले पनि गाउँमा कटुवाल प्रथा भरपर्दो छ। गाउँपालिकाले कटुवालहरूको सहजताका लागि भनेर माइक उपलब्ध गराउँछौँ भन्दा पनि उहाँहरूले स्वीकार नगरेको उपाध्यक्ष बुढाले बताउनुभयो।