• ११ मंसिर २०८१, मङ्गलबार

ज्ञान केन्द्र बनाउने अभियान

blog

सङ्घीय शासन व्यवस्थापछि सिंहदरबार गाउँ गाउँमा पुग्यो भनिएको छ। कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाको त्रिवेणीको रूपमा रहेको सिंहदरबारमा हुने निर्णय तथा घटनाले वडा तहसम्मका सिंहदरबारलाई प्रभाव पारेको हुन्छ। त्यसैले सबै ६६० शासकीय अङ्गमा मूल्यको सिर्जना र वितरण गरी ज्ञान केन्द्रको रूपमा आफूलाई अब्बल (रोल मोडल) प्रमाणित गर्नुपर्छ। पढेर, परेर, अध्ययन तथा अनुसन्धानबाट हासिल गरेको ज्ञानको आधारमा मूल्य सिर्जना हुन्छ। डी.ए.डब्लु.एन. पत्रिकाका अनुसार राजनीतिज्ञ र प्रशासक विचारक पनि हुन यसैले उनीहरूले हरेक विषयवस्तु गहिराइमा बुझेको हुन्छ भन्ने आमविश्वास गरिन्छ । यस्तो क्षमताको विकास पनि अध्ययनबाट नै गर्न सकिन्छ। 

पढाइसम्बन्धी विश्व सन्दर्भ

विश्वमा हरेक सफल व्यक्तिको सफलतामा उसको पढाइप्रतिको लगावलाई पनि लिन सकिन्छ। अमेरिकी व्यवसायी, लेखक तथा लगानीकर्ता विल गेट्सले प्रत्येक वर्ष करिब ५० वटा किताब पढ्छन् भने वारेन बफेटले प्रत्येक दिन ६०० देखि १००० पेज पढ्छन्। पावर अफ हेविटका लेखक चाल्स डगिसले पनि प्रत्येक दिन सुत्नुअघि किताब पढ्छन् यसले दिमागलाई शान्त गराउन तथा सम्भावनाको क्षितिजलाई बढाउन मद्दत गर्ने उनको विश्वास छ। अध्ययनले नवीन सोच तथा विचारको आधार तयार गरिदिन्छ, जसबाट मानिसमा असल गुण र चरित्रको निर्माण गर्न मद्दत मिल्छ जुन समग्र मानव कल्याणका लागि उपयोगी हुन्छ। 

किताबहरू केवल बोल्ने मात्र होइन सुन्छन् पनि त्यसैले पढाइको महत्व रहेको हुँदा युवा पुस्तालाई दोहो-याउने प्रेरणादायी किताबको आवश्यकता बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले औँल्याउनुभएको छ। लेखक सुजित मैनालीले पढ्ने बानीले मानिसमा धैर्यताको विकास गराउन सहयोग पुग्ने जनाउनुभएको छ। नियमित पढ्ने व्यक्तिमा अरूका कुरा सुन्न तथा अरूलाई बुझ्न मात्र होइन कामप्रतिको लगाव बढाउन पनि मद्दत गर्छ।

पढेर के हुन्छ ?

व्यक्ति स्वयंलाई जीवन्त राख्न निरन्तरको अध्ययनले मद्दत गर्छ। मनोविज्ञानवेत्ता इन रोवर्टसनका अनुसार, मानिसको प्लास्टिकरूपी मस्तिष्कको आकारको निर्धारण उसको अनुभव, सिकाइ र सोच्ने क्षमताबाट हुन्छ। यस्तो सोच्ने र सिक्ने क्षमताको विकास अध्ययनबाट नै हुन्छ। नियमित पढ्ने बानीले व्यक्तिको शब्द भण्डार बढाउने मात्र होइन कि यसले लेखन सीप तिखार्न पनि मद्दत गर्छ। व्यक्तित्व विकासका लागि आवश्यक एकाग्रता, धैर्यताजस्ता गुणको विकासका लागि पनि अध्ययन आवश्यक छ। त्यति मात्र होइन नियमित अध्ययन गर्ने मानिसमा जीवनको उत्तराद्र्धमा देखिने अल्जाइमर्सको समस्या कम भएको विज्ञानले प्रमाणित गरेको तथ्य हो। पढाइबाट नै मानिसले अरूलाई बुझ्ने क्षमता (इमोसनल इन्टलिजेन्स) ले उसको अन्तरवैयक्तिक सम्बन्ध मात्र राम्रो हुने मात्र होइन कि अन्ततः यसले त्यस्ता व्यक्तिको आयु बढाउन पनि मद्दत गर्छ भन्नेमा वैज्ञानिक एकमत छन्।  जसरी भौतिक शरीरलाई स्वस्थ राख्न माछा मासु, दूध/दही तथा फलफूलको आवश्यकता पर्छ त्यसरी नै मानिसको अन्य शरीर (भव, सूक्ष्म, मानसिक, आत्मिक, ब्रह्म तथा निर्माणिक) लाई स्वस्थ राख्ने प्रमुख उपाय निरन्तरको अध्ययन नै हो। पढ्ने बानीले मानिसको शरीर, मन र आत्मालाई स्वस्थ राख्न मद्दत गर्छ। 

पढ्ने बानीसम्बन्धी सर्वेक्षण 

पढ्ने बानीसम्बन्धी सर्वेक्षणले अधिकांश अमेरिकी आफ्नो खुसीका लागि पढ्ने गरेको देखाएको छ। ग्लोबल इङ्लिस इडिटिङका अनुसार, सन् २०२० मा गरिएको सर्वेक्षणले भारतमा प्रत्येक व्यक्तिले प्रतिहप्ता कम्तीमा १० घण्टा ४२ मिनेट पढ्ने गरेको पाइयो। त्यस्तै चीनमा ८ घण्टा र अमेरिकामा जम्मा ५ घण्टा ४२ मिनेट अध्ययन गर्ने गरेको पाइयो। यसैगरी, चीनमा प्रत्येक वर्ष चार लाख ४४ हजार तथा अमेरिकामा तीन लाख चार हजार ९१२ पुस्तक प्रकाशित हुन्छन् भने भारतमा जम्मा ९० हजार किताब प्रकाशन हुने गरेको तथ्याङ्क छ। यस्तो अध्ययन तथा पुस्तक प्रकाशनसम्बन्धी सर्वेक्षणमा नेपाललाई भने समेटिएको छैन। 

सर्वेक्षणले देखाएअनुसार एक अमेरिकीले वर्षमा १२ वटा, जापानीले ११ वटा र चिनियाँले आठवटा किताब पढ्ने गरेको तथ्य देखाएको छ। त्यसैगरी एसिया प्यासिफिकमा सबैभन्दा बढी साक्षरता भएको देश सिङ्गापुरमा पुरुषले भन्दा महिलाले बढी पढ्ने गरेको पाइएको छ। नेपालका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अध्ययन बानी सम्बन्धमा इ.एल.टी. चौतारीले गरेको सर्वेक्षणमा ४३ प्रतिशत विद्यार्थीले मात्र तोकिएको पाठ्यक्रम बाहिरका किताब पढ्ने गरेका छन्। 

सिंहदरबारमा पढाइका पूर्वाधार

पुस्तक, पत्रपत्रिका, म्यागेजिन, जर्नलको सहज उपलब्धताका साथै पढ्ने/लेख्ने उपयुक्त वातावरणसहितको पुस्तकालय (लर्निङ सेन्टर) पठन संस्कृति विकासका लागि आधारभूत पूर्वाधार हो। यस्ता पूर्वाधारले पढ्ने बानीको विकास गराउन उत्प्रेरकको काम गर्छन्। सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयका साथै संसद् सचिवालय, आयोग, विभाग, केन्द्र, सरकारी सञ्चार माध्यमलगायत सुरक्षा अङ्गहरू रहेका छन्। अब निकट भविष्यमा सङ्घीय संसद् र सर्वोच्च अदालत पनि सिंहदरबारभित्र नै रहने भएका छन्। यस्तो महत्वपूर्ण शासकीय केन्द्र भएर पनि अहिलेसम्म यहाँ एकीकृत तथा सुविधायुक्त लर्निङ सेन्टर नै छैन। सिंहदरबारभित्र संसद् सचिवालय, सङ्‍घीय मामिला, राष्ट्रिय योजना आयोग, संस्कृति, कानुन, शिक्षा आदि केही निकायमा जनशक्तिसहितका पुस्तकालय भए पनि यिनको सञ्चालन परम्परागत ढङ्गबाट भएको पाइन्छ। पुस्तक लिने र दिने (बुक रोलिङ) प्रक्रिया पनि दयनीय नै छ। सिंहदरबारभित्र कार्यरत कर्मचारीले पनि आफ्नो निकायबाहेक अन्य पुस्तकालयबाट पुस्तक लिन पाउँदैनन्। कर्मचारीको रुचि, चाहना तथा क्षेत्रगत मन्त्रालयसंँग सम्बन्धित विश्वप्रसिद्ध (बेस्ट सेलिङ) किताबलगायत नेपालको भूगोल, इतिहास, संस्कृति, साहित्यसँग सम्बन्धित विषयमा लेखिएका पुस्तकहरू खरिद योजना तयार गरेर व्यवस्थित ढङ्गले गरेको पनि पाइँदैन। लाइब्रेरी साइन्सका १४ स्वीकृत दरबन्दीमा (सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) कर्मचारी विभिन्न निकायमा कार्यरत छन् । यस्तो प्राविधिक जनशक्तिलाई एकीकृत ढङ्गले परिचालन गरिएको छैन। अध्ययनका लागि यस्ता कमजोर पूर्वाधारले कसरी कर्मचारी तथा राजनीतिज्ञमा पठन संस्कृतिको विकास गराउन सक्ला ? 

ज्ञान केन्द्र कसरी बनाउने 

सिंहदरबारलाई शासन र प्रशासनको केन्द्र मात्र होइन मुलुकभरि मूल्य वितरण गर्ने ज्ञान केन्द्र (नलेज हब) बनाउन आवश्यक छ। सिंहदरबारमा भएका प्रत्येक गतिविधिको प्रत्यक्ष प्रभाव प्रदेश र स्थानीय तहमा रहेका कार्यपालिकीय, व्यवस्थापकीय र न्यायिक अङ्गका साथै सेवा प्रवाहमा पर्छ। यसैले सिंहदरबारलाई नलेज हव बनाउन अध्ययनका पूर्वाधारमा सुधार गरी पठन संस्कृतिलाई संस्थागत गर्नुपर्छ। 

यसको पहिलो सर्त एकीकृत सुविधा सम्पन्न ज्ञान केन्द्र निर्माण सञ्चालन तथा व्यवस्थापन गर्नु नै हो। यस्तो ज्ञान केन्द्रका लागि नयाँ भवनको आवश्यकता पनि पर्दैन भएका संरचनाको स्मार्ट ढङ्गले उपयोग गरे मात्र पुग्छ। त्यसैगरी, लाइब्रेरी साइन्स समूहका कर्मचारीलाई यही ज्ञान केन्द्रको छाताभित्र ल्याइ परिचालन गर्न सकिन्छ । यस्तो ज्ञान केन्द्रलाई विदेशी विश्वविद्यालय तथा सामुदायिक अध्ययन केन्द्रजस्तै पूर्णस्वचालित (अटोमेसन) विधिबाट सञ्चालन गर्नुपर्छ। सुविधासम्पन्न पूर्वाधारसँगै पठन संस्कृति विकासका लागि अध्ययन तथा अनुभवबाट हासिल गरेको ज्ञानलाई प्रवाह गर्न नियमित नीति संवाद (पोलिसी डाइलग) कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यस्ता पोलिसी डाइलगमा निजी क्षेत्र तथा विश्वविद्यालयका विज्ञ÷प्राज्ञ, प्रदेश र स्थानीय तहका अनुभवी व्यक्तिलाई आमन्त्रण गर्नुपर्छ। यस्तो डाइलग फोरम (संवाद मञ्च) विदेशमा अध्ययन गरी फर्किएका कर्मचारीको अध्ययन तथा अनुसन्धानको नतिजा प्रस्तुत गर्ने उपयुक्त थलो पनि हुन सक्छ।

ज्ञान केन्द्रमा हार्वड तथा अक्सफोर्डका जर्नल तथा जेस्टरजस्ता प्रकाशन (जुन रकम नतिरी पढ्न पाइँदैन) सिंहदरबारभित्र सहज पहुँच हुने व्यवस्था गर्नुपर्छ। यसैगरी केन्द्रमा सकारात्मक चिन्तन, नैतिकता, निष्ठा र आदर्श कमजोर भएको विद्यमान अवस्थामा सुधार ल्याउन कर्मचारी र राजनीतिज्ञलाई लक्षित गरी मोटिभेसनल स्पिकरबाट प्रवचनको प्रबन्ध पनि गर्नुपर्छ । यसैगरी, विश्वप्रसिद्ध विश्वविद्यालय तथा तालिम प्रदायक संस्थाबाट प्रदान गरिने पैसा तिरेर लिनुपर्ने अनलाइन तालिम कार्यक्रममा कर्मचारी र राजनीतिज्ञलाई सहभागी गराउन सकिएमा कम बजेटमा धेरै उपलब्धि हासिल गर्न सकिन्छ। यसरी विद्युतीय माध्यमबाट सञ्चालन गरिने कार्यक्रममा प्रदेश र स्थानीय तहलाई पनि आबद्ध गर्न सकिन्छ।

सुशासन, विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न प्रत्येक व्यक्तिको उत्पादकत्व बढाउन तथा उसमा सकारात्मक सोच र चिन्तनको विकास गराउनु आवश्यक छ। यसका लागि व्यक्तिमा पढ्ने बानीको विकासका लागि आवश्यक पूर्वाधार र वातावरण तयार गर्नुपर्छ। यसो हुन सकेमा मात्र व्यक्तिमा पढौँ पढौँ भन्ने भावनाको जागृत हुने मात्र होइन फुर्सद हुना साथ स्मार्टफोनमा रम्ने प्रवृत्तिमा पनि आमूल सुधार भई मुलुकका लागि सक्षम नागरिक तयार गर्न मद्दत मिल्छ। सिंहदरबारमा गरिएको यस्तो सफल अनुभवलाई प्रदेश र स्थानीय तहमा विस्तार गरी सबै शासकीय एकाइलाई नै ज्ञानको केन्द्र बनाउन सकिन्छ।

लेखक नेपाल सरकारका उपसचिव हुनुहुन्छ।