• १० मंसिर २०८१, सोमबार

सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्दै

blog

दोलखा समाचारदाता 

दोलखा, फागुन १६ गते । दोलखाका सामुदायिक विद्यालयमा संस्थागत (बोर्डिङ) विद्यालयबाट विद्यार्थी आउने क्रम बढेको छ । संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयमा शिक्षण राम्रो हुन थालेपछि विद्यार्थी आउने क्रम बढेको अभिभावक एवं भीमेश्वर नगरपालिका–७, मकैबारीको कुटीडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य सबु तामाङले बताउनुभयो । 

संस्थागत विद्यालयले विद्यार्थीलाई बढी घोकाउने गरेको र घोकेकै भरमा प्रश्न सोधेर नतिजा आएको देखाएर अभिभावकलाई रणभुल्ल पारिरहेको अभिभावकले बताउने गरेका छन् । उहाँले भन्नुभयो, “घोकेको बाहेकको प्रश्न दिने हो भने उत्तर दिनै नसक्ने रहेछन् । अङ्ग्रेजी मोहको नामले अभिभावकलाई झुक्याइएको रहेछ । नतिजा मात्र ठूलो कुरा होइन रहेछ ।” 

उहाँले भन्नुभयो, “यस्तो बुझेपछि अहिले आफ्नै घर छेउको कुटीडाँडा माध्यमिक विद्यालयमै दुई जना बच्चा पढाउन थालेको छु । नियमित छन्, पढाइ पनि राम्रो भएको छ ।” 

यहाँका स्थानीय कविता केसी र सरस्वती भुजेलले पनि बोर्डिङ स्कुलबाट आफ्ना बच्चा यहीँ पढाउन थाल्नुभएको छ । उहाँहरूले भन्नुभयो, “महँगो बोर्डिङमा पढाउँदा खासै राम्रो भएन, अहिले गाउँका अरू सबैले सामुदायिक विद्यालयमै पढाउन थालेपछि हामीले पनि यही विद्यालयमा बच्चाहरूलाई राख्यौँ ।” यो विद्यालयमा मात्र ९८ जना विद्यार्थी बोर्डिङबाट आएका छन् । बोर्डिङ छाडेर यो विद्यालयमा भर्ना भएका विद्यार्थी विप्लव घिमिरेले भन्नुभयो, “यताको पढाइ उताको भन्दा निकै राम्रो छ ।” 

भीमेश्वर नगरपािलकाभित्रका भीम माविमा १०, पशुपतिकन्या माविमा २०, महेन्द्रोदय माविमा १८ र कालिञ्चोक माविमा ८५ जना बोर्डिङबाट आएका अभिलेखले देखाएको छ । सदरमुकाम चरीकोट आसपास मात्र होइन, दूरदराजमा रहेको गौरीशङ्कर गाउँपालिका–८ को खारे माविमा पनि १५ जना विद्यार्थी बोर्डिङबाट आएका छन् । आउने शैक्षिक सत्र २०८० मा विद्यार्थी अझै बढ्न सक्ने आकलन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइको अभिलेखअनुसार जिल्लामा रहेका ३३९ सामुदायिक विद्यालयमा छात्रा १८ हजार ५८१ र छात्र १७ हजार ३८४ र ३७ वटा संस्थागत विद्यालयमा छात्रा चार हजार ९५४ र छात्र छ हजार ४८ अध्ययरत छन् ।