• १३ मंसिर २०८१, बिहिबार

सडकको बीचमै पोल गाडियो

blog

कपिलवस्तुको शिवराज नगरपालिका ५ नौडिहवामा कालोपत्रे सडकमा गाडिएको पोल । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, फागुन १५ गते । कपिलवस्तुको शिवराज नगरपालिका ५ नौडिहवामा कालोपत्रे गरिएको सडकको बीचमा पोलहरू गडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै पोल गाडेपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । प्लटिङ गर्नेहरूको लापरबाहीले अहिले सडकभर पोल ठड्याइएका छन् ।

कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नाप जाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताउनुभयो । ‘कुनै जानकारी बिना सडक निर्माण भयो ।  मेरो अधिकांश जग्गा सडकमा परेको छ’‚ उहाँले भन्नुभयो‚ ‘यसरी कसैको व्यक्तिगत जग्गामा सडक बनाउने अधिकार छैन ।’

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्रे सडकमै पोल गाडेपछि त्यस सडकमा सवारी हिँडडुल गर्न सकेका छैनन ्। सडक बनाउँदा नाप जाँच भए पनि पछि पुनः थारुले नाप जाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बन्जाडेले बताउनुभयो । सो क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बन्जाडेले बताउनुभयो ।

सडकमै पोल गाड्नु गैर जिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीको भनाइ छ । नापी गर्ने निकायले फरक फरक नापी दिँदा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीको कथन छ । सडकको बीचमा पोल हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उहाँले माग गर्नुभयो ।