रेखीराम राना
पाल्पा, फागुन १५ गते । चुनढुङ्गा खानीले पानीको मुहान पुरेपछि यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन्। निस्दी गाउँपालिका–७, ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिले उत्खनन गरेको (बेल्ट कन्भेयर) सुरुङले खानेपानीको मुहान पुरेपछि स्थानीय बासिन्दा चार महिनादेखि पिउने पानीबाट वञ्चित भएका हुन्।
विगत पाँच वर्षदेखि ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिको चुनढुङ्गा खानी सञ्चालनमा रहेको छ। एक वर्षअघिदेखि चुनढुङ्गा ढुवानीका लागि ज्यामिरे क्षेत्रमा पाँच किलोमिटर लामो (बेल्ट कन्भेयर) सुरुङ खनिरहेको छ।
सोही सुरुङका कारण खानेपानीको मुहान पुरिएपछि परम्परादेखि पिउँदै आएको पानीको मुहान सुकेको स्थानीय बासिन्दाको भनाइ छ। मुहान सुकेपछि खानेपानी पिउनबाट आफूहरू वञ्चित हुनुपरेको स्थानीय ज्यामिरे टोलका बासिन्दा सुमित्रा परियारले गुनासो गर्नुभयो।
“सुरुङ खनेर फ्याँकेको पहिरोले पिउने पानीको मुहान नै पुरियो” उहाँले भन्नुभयो, “खानीको जबर्जस्तीले बाजे जिजुबाजेदेखि प्रयोग गरेको पानीको मुहान सुक्यो।”
अहिले आफूहरूले तीन घण्टा लगाएर पिउने पानी खोलाबाट बोक्नुपर्ने बाध्यता बनेको उहाँहरूको भनाइ छ। खानी सञ्चालकले पिउने पानीको मुहान भएको थाहा हुँदाहुँदै पनि गाउँलेलाई धम्क्याएर मुहान पुरिदिएको आरोप स्थानीय बासिन्दा मनबहादुर सारुले लगाउनुभयो।
खानी सञ्चालनपछि स्थानीय बासिन्दालाई राहत हुने तथा स्थानीयका लागि धेरै आश्वासन बाँडिएको थियो, उहाँले भन्नुभयो तर आश्वासन पूरा गर्नेतर्फ होइन जबर्जस्ती गर्नेतर्फ खानी सञ्चालक लाग्यो।
खानी सञ्चालन हुनुअघि एक घर, एक रोजगार, पिउने पानीको राम्रो व्यवस्था, नागरिकको जग्गालाई उचित क्षतिपूर्ति, विद्यालय, आमा समूहलाई सहयोगको कुरा भएको थियो तर अहिले यहाँका ५८ घरधुरीसहित ज्यामिरे, अधमारा,
रोल्लाबास, सिन्दुरेलगायतका बासिन्दा खानीको धुलो, टिप्परको आतङ्क, वातावरणीय प्रभावबाट प्रताडित बनेका छन्।
खानीकै कारण ज्यामिरेटोलमा रहेको जनप्रिय माविका विद्यार्थीले समेत सहज रूपमा शिक्षा लिन पाएका छैनन्। कृषकले लगाएको तरकारी तथा अन्य अन्नबाली धुलोका कारण हुर्कन नसकेको स्थानीयले बताएका हुन्।
बाटो नजिकैबाट दिनहुँ गुड्ने करिब पाँच टिप्परका कारण ध्वनी प्रदूषणले सहज रूपमा शिक्षा लिने अवस्था नरहेको विद्यार्थी बताउँछन्। टिप्परका कारण एक वृद्ध महिलाको ज्यान गए पनि हालसम्म उचित क्षतिपूर्ति नपाएको बताइएको छ।
स्थानीय बासिन्दाले आफूहरूलाई खानी सञ्चालकले जबर्जस्ती गर्न थालेपछि आन्दोलनमा उत्रनु परेको बताएका छन्। यहाँका बासिन्दाले पुनर्बासको माग गर्दै दुई महिनादेखि चुनढुङ्गा ढुवानीमा अवरोध गरेका छन्।
खानी सञ्चालकले सुरुङ खनेका बेला निस्केको माटो तथा ढुङ्गासमेत स्थानीय बासिन्दाको खेतीयोग्य जग्गामा फाल्ने गरेको छ। खानी सञ्चालकले भने पिउने पानी रहेको मुहान खानी क्षेत्रको भएको बताएको छ।
स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरेको छ। स्थलगत अनुगमनपछि प्रभावित क्षेत्रका बासिन्दा, खानी सञ्चालक र सरोकारवालाका बीचमा समस्या समाधान गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो।
स्थलगत अवलोकनबाट स्थानीय बासिन्दा धेरै नै पीडित बनेको बुझियो, जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले भन्नुभयो, “जनतालाई जबर्जस्ती गरेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता खानी सञ्चालकमा देखियो।”