• १३ मंसिर २०८१, बिहिबार

फेरिए जनप्रतिनिधि फेरिएनन् नीति तथा कार्यक्रम

blog

गणेश खनाल

अर्घाखाँची, फागुन १३ गते । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आए पनि अर्घाखाँचीमा भने पुरानै नीति तथा कार्यक्रमले निरन्तरता पाएको छ। 

पहिलो कार्यकालमा अनुभव नभएको तथा स्थापना वर्ष भएकाले नयाँ र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको बताइएको थियो। दोस्रो कार्यकालका जनप्रतिनिधिको अवस्थामा पनि पहिलो कार्यकालकै जस्तै देखिएको छ। यस जिल्लामा तीन गाउँपालिका र तीन नगरपालिका गरी छवटा पालिका छन्। २०७४ सालमा अधिकांशमा स्थानमा विजय हासिल गरेको नेपाली कांग्रेस पार्टी अहिले दुई स्थानमा झरेको छ। तर, पार्टीबाट निर्वाचित जनप्रतिनिधि फेरिए पनि कार्यक्रमहरू भने पुरानैलाई निरन्तरता दिइएको छ। विगतमा एउटा पार्टी र अहिले फरक पार्टीको नेतृत्व रहेको सन्धिखर्क, भूमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकामा खासै फरक र नयाँ कार्यक्रम छैन। 

यी तीनवटा स्थानीय तहको नीति हेर्दा सन्धिखर्क नगरपालिकाले अघिल्लो वर्षजस्तै यस पटक पनि पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्यलगायतका नीति सन्धिखर्कमा प्राथमिकतामा राखेको छ। छत्रदेव गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानतालगायतका नीति दोहो-याएको छ। भूमिकास्थान नगरपालिकाले कृषि, पूर्वाधार, सहकारी तथा वित्तीय नीति, पर्यटकीय पूर्वाधारसम्बन्धी विषयमा पुरानै नीतिलाई निरन्तरता दिएको छ।

केही नयाँ नीति तथा कार्यक्रम आउने अपेक्षासहित कांग्रेसलाई छाडेर नेकपा (एमाले) जनप्रतिनिधिलाई मतदान गरे पनि कार्यक्रममा नयाँपन देख्न पाइएको छैन। स्थानीय तहको नीति तथा कार्यक्रमका अधिकांश शीर्षकका बुँदाहरू पुरानै दोहोरिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छी विकासअन्तर्गत कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण तथा बजारीकरणमार्फत नगरपालिकालाई आत्मनिर्भर बनाउनेलगायतका रहेका छन्। 

त्यस्तै प्रत्येक वडामा सम्भाव्यताका आधारमा पकेट क्षेत्रको पहिचान गरी विकास गर्न माटो परीक्षण गर्न घुम्ती शिविर सञ्चालन गर्ने, नगरभित्रको दूधको उत्पादकत्व वृद्धि गर्न र नश्ल सुधार गर्नका लागि सहकारी संस्थाहरूको साझेदारीमा उन्नत नश्लका मुर्रा भैँसी भित्र्याउने बुँदाहरू हुबहु सारिएका छन्।

आगामी पाँच वर्षभित्र निर्यात गर्न सकिने गरी एभोकाडो, किवी, ड्र्यागन फ्रुट, कागती र दाँते ओखरको खेतीलाई प्रवद्र्धन गर्ने, खेतीयोग्य जमिनको नियमित माटो परीक्षणको व्यवस्था मिलाउने, ग्रामीणस्तरमा कृषि यान्त्रिकीकरण कार्यलाई बढावा दिन लागत साझेदारीमा कुटानी–पिसानी यन्त्र वितरण गर्ने, निःशुल्क बाख्रा तथा बोका वितरण गर्नेलगायतका नीति तथा कार्यक्रम पनि दोहोरिएका छन्।

छत्रदेव गाउँपालिकामा अघिल्लो वर्षको पुस्तक र यो वर्षको योजनाको पुस्तकमा मितिबाहेक अधिकांश नीति तथा कार्यक्रम पुनः दोहोरिएका छन्। गत आर्थिक वर्षमा ‘एक वडा एक उत्पादन’, सहकारीमार्फत सामूहिक खेती, कृषि औजार तथा सामग्री अनुदानमा उपलब्ध गराउने, भेटेरिनरी ल्याब सञ्चालन गर्नेलगायतका नीति तथा कार्यक्रममा समावेश थिए। 

अहिले पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको छ। वैदेशिक रोजगारीमा जान बाध्य युवालाई लक्षित गर्दै व्यावसायिक कृषि कार्यक्रम, उद्योग तथा वाणिज्य व्यवसायको दर्ता प्रक्रियालाई सरलीकृत गर्न सबै वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन, साना तथा मझौला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने, छत्रदेवको पहिचान तथा महत्व झल्काउने गीत निर्माण गर्नेलगायतका कार्यक्रममा अक्षर पनि फरक छैनन्। 

कला संस्कृतिको प्रचारप्रसार गरी सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने, सीप सिक्न चाहने बेरोजगार व्यक्तिलाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको गुणस्तरीयतालाई सुनिश्चित गर्न स्वास्थ्य संस्थालाई थप सुदृढ बनाउँदै लैजाने निरन्तर कार्यक्रम छन्। समय अभावका कारण नयाँ कार्यक्रमलाई प्राथमिकता दिन नसकिएको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो। भूमिकास्थान नगरपालिकाले स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार मापदण्डअनुसारको बनाउने, नगर तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई छिटोछरितो गर्नका लागि सफ्टवेयरको व्यवस्था गर्ने उल्लेख गरेको छ। 

जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने, मसला तथा जडीबुटीजन्य बिरुवा रोपण कार्यलाई प्राथमिकता दिने, स्वास्थ्य संस्थाहरूको आन्तरिक व्यवस्थापन, सञ्चालन र सहजताका लागि संस्थागत अनुदानको व्यवस्थापन गर्ने, नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख बनाउन पहल गर्ने, उत्कृष्ट सेवा तथा कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने, कोल्डचेन व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने, आधारभूत तथा सामुदायिक स्वास्थ्य एकाइमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नेलगायतका नीति तथा कार्यक्रम निरन्तरता दिइएको छ। 

भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले ऐन नियमका कारण पनि राख्नैपर्ने कार्यक्रम भएकाले केही कार्यक्रम पुनः दोहोरिएको बताउनुभयो। स्थानीय तहका सबैजसो जनप्रतिनिधिले नयाँ नीति तथा कार्यक्रम बनाउने पर्याप्त समय नभएका कारण अधिकांश नीति तथा कार्यक्रम दोहोरिएको उहाँले स्वीकार गर्नुभएको हो।