• १३ मंसिर २०८१, बिहिबार

छ महिनापछि अस्पताल निर्माण सुरु

blog

रामेछाप समाचारदाता

रामेछाप, फागुन १३ गते । निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछापको मन्थलीमा छ महिनादेखि अलपत्र बनेको मन्थली अस्पताल निर्माण सुरु भएको छ। 

करिब २० प्रतिशत काम पनि नसकी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि उक्त अस्पतालको काम गत असार पहिलो हप्ताबाट रोकिएको थियो तर निर्माणको जिम्मा लिएको लालशुभ मेन्द्रो जेभी सम्पर्कमा नआएपछि उससँग सहकार्य गरेको निर्माण कम्पनी गाल्वाले एक महिनाअगाडिबाट अस्पताल निर्माण सुरु गरेको हो। 

अहिले अस्पताल निर्माणअन्तर्गत ढलानको काम भइरहेको इन्जिनियर सरोजकुमार साहले बताउनुभयो। लामो समयसम्म अस्पताल निर्माण अलपत्र पारेर साझेदार कम्पनी लालशुभ मेन्द्रो जेभी सम्पर्कमा नआएपछि अहिले निर्माण कम्पनी गाल्वा एक्लैले काम अगाडि बढाएको निर्माण व्यवसायी सजन श्रेष्ठले बताउनुभयो। 

उहाँले भन्नुभयो, “अस्पताल निर्माणका लागि श्री गाल्वा/लालशुभ मेन्द्रो जेभी काठमाडौँले मिलेर ठेक्का लिए पनि निर्माणको जिम्मा लालशुभ मेन्द्रोले लिएको थियो तर काम अलपत्र पारेर लालशुभ मेन्द्रो जेभी सम्पर्कविहीन भएपछि छ महिनापछि गाल्वाले काम अगाडि बढाएको हो।”

निर्माणको जिम्मा लिने गाल्वा र सरोकारवाला निकायसँग समन्वय गरेर गत पुस अन्तिमबाट रोकिएको काम सुरु गरिएको छ। १५ शय्याको मन्थली अस्पतालको २० प्रतिशत पनि काम नसकी गत असारबाट अलपत्र छाडिएको थियो। गत असारमा प्रक्रिया मिलाएर सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापबाट दुई करोड ९० लाख १५ हजार रुपियाँ बढी भुक्तानी लिएपछि लालशुभ मेन्द्रो जेभी सम्पर्कविहीन भएको थियो। 

बागमती प्रदेश सरकारको लगानीमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड ३२ लाख ५० हजार रुपियाँमा बन्ने गरी ठेक्का सम्झौता भएको थियो। अस्पताल २०७८ भदौ १० गते शिलान्यास भएको थियो।