तुलसीपुर समाचारदाता
तुलसीपुर, फागुन १२ गते । तुलसीपुरको वडा नम्बर ३ भट्टे हुँदै सल्यान जिल्लाको लुहाम पुग्नका लागि भमेक खोलामा पुल बनेपछि यात्रा गर्न सहज हुने भएको छ। तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी र सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्डअन्र्तगत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्न समस्या थियो।
तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माका अनुसार त्यस सडकखण्डमा यातायातका साधन सञ्चालनमा आइरेहका छन्। तुलसीपुरबाट सल्यान जिल्लामा पुग्न तीनवटा सडक छन्।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड पहिरोका कारण निकै जोखिममा रहेकाले यस सडकखण्ड सल्यान पुग्नका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ। उहाँले पुल निर्माण भएपछि सल्यान जिल्लामा पुग्ने यात्रुका लागि अब वर्षायाममा सहज हुने बताउनुभयो।
पुल नहुँदा वर्षायाममा भेलका कारण यात्रुहरूलाई रोकिनुपर्ने समस्या रहेको स्थानीय कर्णबहादुर खड्काले बताउनुभयो। त्यस्तै तुलसीपुर–९ दोघर्रे, प्रतापकोट हुँदै सल्यानको फलावाङसम्म पुग्नका लागि सडक रहेको छ। सल्यान जिल्लामा तुलसीपुरबाट पुग्नका लागि दूरीका दृष्टिले सबैभन्दा कम दूरीको सडकखण्ड दोघर्रे प्रतापकोट सडकखण्ड रहेको छ। उक्त सडकबाट सल्यान, रुकुम र जाजरकोटसम्म पुग्न सकिन्छ।
तुलसीपुर उपमहानगरपालिकाको दुई करोड ६४ लाख ५८ हजार नौ सय ६८ रुपियाँको लागतमा भैरव निर्माण जेभीले पुलको निर्माण गरेको हो। २० मिटर लम्बाइको पुल २०७८ भदौ महिनादेखि निर्माण सुरु गरिएको हो।