तानसेन समाचारदाता
पाल्पा, फागुन १२ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक चरणको काम गर्न दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको छ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि यस्तो निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो।
सिद्धबाबा क्षेत्रको रामापिथेकस नजिकै सडकको डाइभर्सन निर्माण गर्दाका बेला माथिबाट खुकुलो ढुङ्गा खस्न सक्ने भएकाले सुरक्षित रूपमा काम गर्न सडक बन्द गर्नुपरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार २०७९ फागुन १३ गतेदेखि १५ दिनका लागि दैनिक आठ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको प्रजिअ पन्तको भनाइ छ।
फागुन १३ गतेपछि बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० देखि ३ बजेसम्म उक्त राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारीसाधन आवागमन बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो। सुरुङ मार्गको डीपीआर स्वीकृतिको अन्तिम चरणमा छ। सडक बन्द रहेको अवधिका बेला यात्रुको सहजताका लागि निर्माण व्यवसायीले दोभान–नुवाकोट सडक मर्मत गरी साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सक्ने गरी प्रबन्ध गर्ने निर्णय भएको छ। व्यवसायीबाट सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माण गर्न निर्माण स्थलमा प्रारभ्मिक चरणको काम भइरहेको छ। सुरुङ मार्गको आवश्यक डिजाइन स्वीकृतिको चरणमा रहेको निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जनाएको छ। कम्पनीका प्रतिनिधि सागर अधिकारीले सुरुङ मार्ग निर्माण स्थलमा बाटो बनाउने तथा अन्य कामका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिनुभयो। योजना साढे तीन वर्षभित्र सकिने अनुमान गरिएको छ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्ग बनाउनुपर्ने माग गर्दै आएका थिए। यो क्षेत्रमा हिउँद र वर्षामा हरेक वर्ष माथिबाट खसेको पहिरोका कारण कैयौँ यात्रुले ज्यान गुमाउँदै आउनुका साथै घाइते हुनुपर्ने बााध्यता रहेको छ। सुरुङ मार्ग बनेपछि पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिनुभयो। आयोजना समयमै सम्पन्न गर्नका लागि सरोकारवाला पक्षबाट सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो। सुरुङ मार्ग सम्पन्न गर्न सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ।