• २१ असार २०८१, शुक्रबार

थलिएको व्यवसाय जगाउन धरान एक्स्पो

blog

धरान समाचारदाता 

धरान, फागुन १२ गते । धरानको स्थानीय उत्पादन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट धरान एक्स्पो सुरु भएको छ । कोरोनाले थला पारेको व्यापार, उद्योगलाई उठाउन यस्तो पहल थालिएको हो । 

पछिल्लो समय नेपालमा आयात बढ्दै गरेको र निर्यात शून्य रहेको प्रदेश १ का  मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । धरान एक्स्पोको उद्घाटनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयात न्यूनीकरण गर्न प्रदेश र केन्द्र सरकारले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महोत्सव महत्वपूर्ण हुने उहाँको भनाइ थियो । 

एक्स्पोमा ११३ वटा स्टल छन् । फागुन ११ देखि २० गतेसम्म धरानको फुटबल रङ्गशालामा एक्स्पो सञ्चालन भएको हो । एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बङ्गुर, लोकल रक्सी, कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय सेवा, लुगा, कपडा तथा घरेलु सामानहरूको स्टल छ । 

सुनसरीका स्थानीय उत्पादन भएका सबै वस्तुहरू तथा अन्तर्राष्ट्रिय उत्पादनको पनि प्रदर्शनीमा राखिएको छ । मनोरञ्जनका कार्यक्रम पनि रहने गरी हरेक दिन राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् ।  

एक सय वर्षभन्दा पुरानो इतिहास बोकेको प्राचीन सहर धरान पछिल्लो समय प्रदेश १ कै शिक्षा स्वास्थ्य, पर्यटन खेलकुद, आर्थिक र धार्मिक केन्द्रका रूपमा विकसित भएको छ । धरान पहिले पूर्वका पहाडी जिल्लाको प्रवेशद्वार, व्यापारिक र व्यावसायिक हिसाबले केन्द्रको रूपमा थियो । 

सडक सञ्जाल र यातायातको सुविधा बढेपछि कोसी पहाडको व्यापारिक नाकाका रूपमा रहेको धरानको व्यापारिक र व्यवसायिक भूमिका बदलिएको छ । 

धरानमा भएका पूर्वाधारको विकास र आर्थिक गतिविधिलाई निरन्तरता दिन नयाँ ढङ्गमा अघि बढ्नुपर्ने चुनौती रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले उद्योग वाणिज्य सङ्घ धरानको विकास र आर्थिक गतिविधि दुवैको चुनौतीको विषयमा गम्भीर रहँदै आएको बताउनुभयो । 

धरानबाहेकका जिल्ला, नगरपालिका, गाउँपालिकाका उद्योगी, व्यवसायी, कृषक तथा आम नागरिकलाई आकर्षित गर्न र धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउन  एक्स्पोले योगदान पु¥याउने विश्वास आयोजकको छ । उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, सार्क नेपाल चेम्बरका केन्द्रीय उपाध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतको उपस्थिति थियो । 

‘सरकारप्रति अनावश्यक वितृष्णा’ 

रङ्गेली समाचारदाताका अनुसार मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारप्रति अनावश्यक वितृष्णा जगाउने काम भइरहेको बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको मात्रै अनावश्यक चर्चा हुने गरेको बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकारमाथि अन्याय भइरहेको छ । गाडी दुर्घटना भए प्रदेश सरकार खारेज हुनुपर्छ भनेर सामाजिक सञ्जालमा लेखिन्छ ।”  उहाँले तीन तहका सरकार भए पनि नागरिकले प्रदेश संरचनाप्रति अमर्यादित प्रतिक्रिया आउने गरेको बताउनुभयो । 

प्रदेश सरकारले छोटो अवधिमा समेत धेरै काम गरेको उहाँले दाबी गर्नुभयो । उहाँले सङ्घीय प्रहरी ऐन, सङ्घीय निजामति ऐन, शिक्षा ऐन अझैसम्म नबन्दा संविधानले तोकेका अधिकार अझैसम्म प्रदेशमा नआएको बताउनुभयो ।