• १३ मंसिर २०८१, बिहिबार

रुकुमपूर्व जिल्ला अस्पताल: चिकित्सकदेखि पानीसम्म अभाव

blog

राजु लामिछाने 

रुकुमपूर्व, फागुन ११ गते । पाँच वर्षपहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या (बेड) र खानेपानीको समेत चरम अभाव छ। ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ। 

यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य खालको औषधि पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाको पेल्माबाट उपचारका लागि आएकी सुनिता नेपालीले अस्पतालमा औषधि नपाइएपछि निजी मेडिकलमा जानुपरेको बताउनुभयो।

बच्चालाई निमोनिया भएकाले अक्सिजन लगाउनका लागि चाहिने पल्स अक्सिमिटर र नेबुलाइजर मास्कसमेत नहुँदा निजी मेडिकलबाट किन्नुपरेको उहाँले गुनासो गर्नुभयो। उहाँ तीन दिन हिँडेर जिल्ला अस्पताल आउनुभएको हो। 

निजी अस्पतालको उपचार महँगो भएकाले आफूजस्ता आर्थिक अवस्था कमजोर भएकाका लागि उपचार नै गर्न नपाई मर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। सिस्ने गाउँपालिका–५ मा रहेको अस्पतालमा दैनिक ६० देखि ७० जना बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ। अस्पतालमा जाँच गराएर कागजपत्र हातमा थमाइदिएपछि औषधि किन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता विगतदेखि नै रहेको स्थानीयको गुनासो छ। 

अस्पतालका चिकित्सक पूर्णबहादुर पुनले अस्पतालमा लामो समयदेखि औषधि अभाव देखिएको बताउनुभयो। सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि यस अस्पतालमा मुस्किलले ४०/४२ प्रकारको मात्र रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै भौतिक संरचना अभावले अहिले १२ बेड मात्र सञ्चालनमा रहेका छन्। ११ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एक जना चिकित्सक मात्र अस्पतालमा उपलब्ध हुनुहुन्छ। छ जना मेडिकल अधिकृतको दरबन्दीमा एक जना, छात्रवृत्ति करार र एनएसआईबाट दुई/दुई जना मेडिकल अधिकृत हुनुहुन्छ। दरबन्दीअनुसारको कर्मचारी, भौतिक संरचना, औषधिको अपर्याप्तताले सेवा प्रवाहमा समस्या हुँदा सेवाग्राहीबाट पटकपटक आलोचित हुनुपरेको डा. पुनले गुनासो गर्नुभयो। अस्पतालमा अहिले एन्टिबायोटिक औषधिसँगै इमर्जेन्सी इन्जेक्सन छैन। 

बच्चाका लागि पल्स अक्सिमिटर, अक्सिजन, नेबुलाइजर मास्क, नोजाल प्रोङ्गस र इन्जेक्सनमार्फत दिने सिटामोलको समेत अभाव रहेको छ। अस्पताल व्यवस्थापन समिति, स्थानीय सरकार र प्रदेश सरकारसँग पटके समस्या राखे पनि समाधान ज्युँका त्युँ नै रहेको चिकित्सकको भनाइ छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट सपना विकले पटकपटक प्रदेश सरकारसँग औषधिको माग गरे पनि नपाएको गुनासो गर्नुभयो। अस्पतालमा खानेपानीको ट्याङ्की नहुँदा सामान्य ड्रमको पानी प्रयोग गरिँदै आएको छ। ड्रमको पानी पिउँदा थप जोखिम बढेको छ। २०७४ साल पुस ७ गते साबिक रुकुमकोट स्वास्थ्य चौकी भएको ठाउँबाटै जिल्ला अस्पतालको सेवा प्रवाह गर्ने घोषणा गरिएको थियो। 

२०७६ साल मङ्सिर ५ गते जिल्ला अस्पतालको औपचारिक उद्घाटन भएको थियो। यसअघि स्वास्थ्य चौकीका नाममा १४ रोपनी जग्गा थियो। सिस्ने गाउँपालिकाले २१ रोपनी दिएर ३५ रोपनी क्षेत्रफल भएको छ। त्यसैमा ५० शय्या अस्पतालको संरचना निर्माणको काम कछुवा गतिमा जारी छ। भवन निर्माणको काम छिटो सकेमा सेवा प्रवाहको कामलाई चुस्त बनाउन सकिने अस्पतालका कर्मचारीको भनाइ छ। अहिले जिल्लाका सर्वसाधारणलाई जटिल प्रकृतिको रोगको उपचार गर्न रुकुमपश्चिम, दाङ, नेपालगञ्ज, काठमाडौँ र चितवन जानुपर्ने बाध्यता छ।