• १३ मंसिर २०८१, बिहिबार

डायलासिस मेसिन प्रयोगविहीन

blog

घोराही समाचारदाता

घोराही, फागुन ११ गते । राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा रहेका आठवटा डायलासिस मेसिनहरू विगत सात महिनादेखि प्रयोग विहीन अवस्थामा छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरू आर्थिक अभावसँगै मेसिन राख्ने ठाउँ नहुँदा प्रयोग विहीन भएका हुन्। 

लामो समयसम्म डायलासिस मेसिनहरू प्रयोगमा नआउँदा बिरामीले दुःख पाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन महिनामा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलासिस मेसिन’ पठाएको थियो। 

सो मेसिन आर्थिक, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण जडान हुन सकेका छैनन्। “मेसिनहरू सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण आर्थिक पक्ष हो, त्यसका साथै जनशक्ति र भौतिक पनि समस्या छ,” अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. ओम अर्यालले भन्नुभयो। 

बिरामीलाई सेवा दिनका लागि मेसिन जडान गर्ने भए पनि आर्थिक अभावका कारण जडान हुन सकेको छैन उहाँले थप्नुभयो, मेसिन जडान गरी सेवा दिनका लागि अहिले कम्तीमा पनि ६० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। सरकारले मेसिन दिने तर बजेट नदिँदा जडान गरेर सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो। अहिले डायलासिसमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन्। मेसिन जडानपछि कम्तीमा ११ नर्सिङ कर्मचारी चाहिने अस्पतालले जनाएको छ।

“अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण हुनसकेको छैन,” उहाँले भन्नुभयो, “भौतिक भवन पनि बनेको छ, त्यो हामीलाई आएको छैन, जसले गर्दा जनशक्तिसँगै ठाउँको समेत समस्या छ।” उहाँका अनुसार मेसिन जडानका लागि पाइपलगायतका सामग्री खरिद गर्नुपर्ने हुन्छ। अस्पतालमा मेसिन जडान नहुँदा प्रादेशिक अस्पताल दिएका आठवटा डायलासिस मेसिनमध्ये तीनवटा मेसिन बाँकेस्थित भेरी अस्पतालमा पठाइएको छ। 

भेरी अस्पताल लगिएका मेसिन फिर्ता गर्ने सर्तमा दिइएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्यालले बताउनुभयो। डायलासिस मेसिन जडान हुन नसक्दा मिर्गौला रोगका बिरामीहरू घोराही, लमही, बुटवल, नेपालगञ्जलगायतका स्थानमा डायलासिसका लागि जानुपर्ने बाध्यता छ।