कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन १० गते । रुपन्देहीका दुई पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएका छन् । सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका हुन् ।
सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो । कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि यसअघि यही अभियान मार्फत् ९० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो ।
केही पालिकाले यसलाई साझा समस्या बनाएर समाधानमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सिद्धार्थनगरपालिका कार्यालयले शिविर सञ्चालन गरी नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार्देखि तीन दिने शिविर सञ्चालन गरी सामुदायिक कुकुरको बन्ध्याकरण थालेको जनाएको हो ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताउनुभयो । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको उहाँको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा १५० देखि दुई सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार एक दिनमा ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीन जना पशु चिकित्सक, २ जना प्राविधिकसहित १२ जनाको टोली खटेको छ । यसबाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ । जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चापाईले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेबिजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताउनुभयो ।