• १३ असोज २०८१, आइतबार

लमही–घाेराही–तुलसीपुर सडकको निर्माण कार्य ढिलो भएको सांसद गिरीको आपत्ति

blog

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद दिपक गिरी ।

काठमाडौं, फागुन १० गते । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाउनु भएको छ । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उहाँको आपत्ति थियो ।

उहाँले भन्नु भयो, ‘‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज चार वर्ष हुँदा पनि बाटो नबनेका कारणले यो चार वर्षको समयमा करिब २२ जनाको मृत्यु भइसकेका छन् । यस्तो डरलाग्दो अवस्था छ बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उड्ने । तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले हो ढिला भएको ? यसको बारेमा सभामुखमार्फत् यो गरिमामय सदनलाई जानकारी गराउनु पर्‍यो । यस्ता कुराहरू उठिरहन्छन् । त्यो बाटो किन आजसम्म बरिरहेका छैन ?’’

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य तीन पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताउनु भयो ।

‘‘अहिले सुन्दैछु–त्यो आयोजना रद्द हुँदैछ । अनि त्यसपछि के हुने ? यसबारे नेपाल  सरकारले वास्तविक कुरा भन्नु पर्‍यो । यहाँ शून्य समयमा धेरै कुराहरू राखिन्छ । तर, त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरूले आफ्ना गम्भीर कुराहरू प्रस्तुत गर्नु हुन्छ । तर, त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौँ ।,’’ सांसद गिरीले भन्नुभयो, ‘‘तसर्थ, त्यो लमही–घोराही–तुलसीपुर सडकको चार लेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’’

सांसद गिरीले सरकारले सांसदहरूले संसद्को विशेष समय र शून्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गर्नुभयो । सांसद गिरीले सरकारलाई संसद्प्रति जबाफदेही हुन पनि पटक–पटक आग्रह गर्नु भयो ।