• १३ मंसिर २०८१, बिहिबार

हाँसीपुरवासीमा छैन हाँसो

blog

लीलाधर वली

घोराही, फागुन १० गते । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दाङको विकट बस्तीका रूपमा परिचित हाँसीपुरमा केही विकास भएको छ । उदाहरण हो– जिल्लाको विकट बस्तीका रूपमा रहेको हाँसीपुरलाई विकास पूर्वाधारका रूपमा रहेका सडक, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारले जोड्ने प्रयास । 

दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा रहेको हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ मा पर्ने विकट र पहाडी बस्ती हो । भौगोलिक विकटताका केही वर्षअघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायतका विकासका पूर्वाधारबाट टाढा रहेको हाँसीपुरलाई पछिल्लो समय विकासका आधारभूत आवश्यकता सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतले जोडे पनि नियमित सेवा नहुँदा हाँसीपुरवासीले अहिले पनि उस्तै दुःख पाउने गरेको बताउँछन् । 

हाँसीपुरलाई सडक सञ्जालले जोडेपछि केही सहज भए पनि नियमित सेवा नहुँदा समस्या भएको स्थानीय कमल विश्वकर्मा बताउनुुभयो । बीपी लोकमार्गअन्तर्गत घोराही–रामपुर–सुर्केडाँगी–बुका–सिमतारा–गहतेरा–मुलावारी–हाँसीपुर हुँदै जबरकोट–बिर्खे–चैतेबाट दाङ–प्युठानको सीमा क्षेत्र गनाहा खोला जोड्ने सडकको ट््याक खोल्ने काम पूरा भएपछि केही वर्षअघि मात्रै हाँसीपुर सडक सञ्जालमा जोडिएको थियो । 

घोराहीको चौघेरादेखि सिमलताराम्मको करिब १० किलोमिटर सडक कालोपत्रे भइरहेको छ भने मुलाबारीसम्मको सडक नालासहित ग्राभेलका लागि काम भइरहेको छ । गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधिको अभावमा अधिकांश मानिस घोराहीमा नै पुग्ने गरेको स्थानीय गोपाल गाहामगरले बताउनुुभयो  । उहाँका अनुसार गाउँका अहिले पनि खानेपानीको अभाव छ, फोनले काम नगर्ने, कृषिका लागि सिँचाइ सुविधा छैन । 

“खानेपानीको धारा त छ, अब गर्मी मौसम सुरु भएसँगै धारामा पानी आउँदैन, पानी ल्याउन खोलामा जानुपर्छ । विद्यार्थीलाई १० भन्दामाथि पढ्ने विद्यालय छैन,” गाहामगरले भन्नुभयो, “स्थानीय समस्या वडा कार्यालयमा भन्दा ठूला समस्या छन्, वडाबाट हुँदैन नेतालाई भन्नुपर्छ भन्छन् तर प्रदेश र प्रतिनिधि सभाका नेताहरू चुनाव जितेपछि भेट्नै गाह्रो हुन्छ ।” 

पानीका लागि दुई ठाउँमा बसोबास 

हाँसीपुरका अधिकांश बासिन्दाका दुई ठाउँमा घर छन् । हाँसीपुर पहाडी क्षेत्र हो । यहाँ पानीको मुख्य समस्या छ । यसले गर्दा पशुपालन तथा अन्नपात उत्पादन हुँदैन । त्यसैले खानेपानी, अन्नपात उत्पादनसँगै पशुपालनका लागि अधिकांश स्थानीयवासी पहिलेदेखि नै दुई ठाउँमा बस्ने गर्दै आएका छन् । अहिले पनि अधिकांश घरको दुई पायक रहेको स्थानीय सर्मिला गाहामगर बताउनुहुन्छ । उहाँका अनुसार हाँसीपुरलाई बस्नका लागि मूल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाका सालबास, गुराँसे र भुल्के भन्ने ठाउँमा बस्ने गर्छन् । सालबास, गुराँसे र भुल्के भन्ने ठाउँमा बसेर यामअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाईभैँसी, बाख्रालगायतका पशुपालन गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार हाँसीपुरमा रहेका करिब ७० घरमध्ये ८५ प्रतिशत मगर समुदायका छन् भने बाँकी क्षेत्री र दलित समुदाय बसोबास गर्छन् ।