• १३ साउन २०८१, आइतबार

राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज दाङमा पार्टी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, फागुन ९ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव अहिलेसम्म नआएको बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्ति सन्तुलनको रूपमा लिएको बताउनुभयो ।

निर्वाचनमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले हल्ला धेरै कोणबाट आए पनि मलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन, हाम्रो पार्टीले पनि राष्ट्रपतिको विषयमा टुङ्गो लगाइसकेको छैन ।’

सधैँ त्याग गर्ने काम आफ्नो पार्टीबाट नहुने भन्दै उहाँले सञ्चार माध्यममा आएका विषय सबै साँचो हुन्छन् भन्न नसकिने बताउनुभयो । पूर्व प्रधानमन्त्री नेपालले  राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको बताउनुभयो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको विषयलाई उहाँले सबै कुरा पर्दा बाहिर ल्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै कुराहरू पर्दा बाहिरै ल्याउनुपर्छ भन्ने छैन, केही कुरा पर्दाभित्रै रहन दिनुपर्छ, मैले र पार्टीले यस विषयमा निर्णय गरेको छैन ।’ 

अध्यक्ष नेपालले देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउँदै संविधानलाई जोगाउने कुरामा चनाखो बन्न समेत आग्रह गर्नुभयो । यस्तै, अध्यक्ष नेपाल एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशको बैठकमा सहभागी हुन दाङ आउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै नेपालले राष्ट्रियता, स्वतन्त्रता र संविधानलाई रक्षा गर्ने विषयमा सधैँ चनाखो बन्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।