• १३ साउन २०८१, आइतबार

तुलसी सहकारीका बचतकर्ताले बुझाए मन्त्री मोदीलाई ज्ञापनपत्र

blog

मन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाउँदै तुलसी सहकारीका प्रतिनिधिहरु ।

गोरखापत्र अनलाइन

विराटनगर, फागुन ८ गते । विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार विराटनगरमा मन्त्री मोदीलाई बचतकर्ताहरूले बचत रकम फिर्ताका लागि पहकलदकमी लिइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

“विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्था लि.ले हजारौँ बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेकाले रकम डुब्ला भन्ने आशङ्का गर्दै उहाँहरूले ज्ञापनपत्र बुझाएको बताउनुभएको छ ।

सहकारीका पदाधिकारी सम्पर्कविहीन भएकाले बचतकर्ताको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताको बचत रकम फिर्ता गर्न पहल गरिदिन उहाँहरूले मन्त्री मोदीसँग माग गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरूको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउन पहल लिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताउनुभयो । “तपाईँहरूको रकम फिर्ता गराउन मैले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छु, बचत रकम फिर्ता गराउन सरकारको तर्फबाट म भूमिका निर्वाह गर्ने विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु” ज्ञापनपत्र बुझ्नेक्रममा मन्त्री मोदीले बताउनुभयो ।  

ज्ञापनपत्र बुझाउने क्रममा बचतकर्ताको तर्फबाट प्रेमप्रसाद आचार्यले आफूलाई न्याय दिलाउन पहलकदमी लिइदिन मन्त्री मोदीसमक्ष आग्रह गरेका थिए ।  

२०७१ मा स्थापना भएको तुलसी बहुमुखी सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् ।