• १३ मंसिर २०८१, बिहिबार

नरैनापुर मेला संरक्षण गरिँदै

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ८ गते । एक शताब्दी लामो इतिहास बोकेको रुपन्देहीकै ऐतिहासिक नरैनापुर मेला संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको नरैनापुर मेला जिल्लाकै सबैभन्दा पुरानो मेला मानिन्छ ।

पछिल्लो समय मेला लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षण गर्न थालिएको हो । नरेश्वर बोलबम महादेव धाम समितिले महाशिवरात्रिका अवसरमा भव्य र व्यवस्थित रूपमा मेला सञ्चालन गरेको छ ।  समितिका अध्यक्ष पूर्णबहादुर पौडेलले नरैनापुर मेला कहिलेदेखि सुरु भएको भन्ने कुरा नै थाहा नभए पनि यसको इतिहास शताब्दीयाँै पुरानो हुनसक्ने बताउनुभयो । महाशिवरात्रिका अवसरमा ६ गतेदेखि १३ गतेसम्म आठ दिन मेला आयोजना गरिएको छ ।  महाशिवरात्रिका अवसरमा नरेश्वर बोलबम धाममा जलार्पण गर्ने परम्परा रहँदै आएको छ । जलार्पण गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । मेला व्यवस्थापन प्रभावकारी नहुँदा केही वर्षयता मेला हेर्ने दर्शक नै आउन छाडेकाले यो मेला लोप हुने अवस्थामा पुगेको हो । 

मेला हुने स्थानमा घर बन्दै गएको र जग्गा खण्डीकरण भएपछि समस्या देखिएको स्थानीय रामलखन चौधरीको गुनासो छ । मेला साँघुरिँदै गए पनि यहाँको मुख्य आकर्षण मिठाई भने अहिले पनि प्रख्यात छ ।  धेरै दर्शक मेलामा मिठाई खान र घुम्न जाने गरेका छन् । बुटवल उपमहानगरपालिका–१५ का पूर्ववडाध्यक्ष रामप्रसाद रेग्मीले ऐतिहासिक नरैनापुर मेलाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेको बताउनुभयो ।