• २२ वैशाख २०८१, शनिबार

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते ।  निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

निर्वाचन आयोगले फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई फागुन १० देखि १६ गतेभित्र दल दर्ता गर्न आह्वान गरेको हो । चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।  आयोगले दर्ताका लागि दलको विवरण, वार्षिक लेखा परीक्षण पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि केन्द्रीय समितिको निर्णय, उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिन आग्रह गरेको छ ।