कविराज घिमिरे
हिले, फागुन ८ गते । धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधिबीच एकापसमा तालमेल नहुनु ।
यो नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी एमालेका नम्रता गौतम विजयी हुनुभयो । नगरका मुख्य विषयमा प्रमुख र उपप्रमुखबीच तालमेल नहँुदा समस्या बढ्दै गयो जुन अहिले पनि समस्याकै रूपमा रहेको छ । आफूहरूसँग सरसल्लाह नै नगरी विभिन्न एजेन्डा बैठकमा ल्याइनु, नगरका विभिन्न गतिविधि आफूलाई थाहा नदिई गरिनु, आफूसँग सरसल्लाह नै नगरी कर्मचारीका विषयमा एकलौटी ढङ्गबाट निर्णय गर्दा समस्या बढेको उपप्रमुख गौतमको भनाइ छ । “सुरुदेखि नै सबै कुरा एकलौटी तरिकाले हुन थालेपछि त्यो स्वीकार्न सकिएन अनि समस्या बढ्दै गएको हो,” उपप्रमुख गौतम भन्नुहुन्छ ।
नगरप्रमुख गुरुङ भने स्वविवेकले काम गर्न नपाएको गुनासो गर्नुहुन्छ । कार्यपालिकामा आफू अल्पमतमा रहेकाले प्रत्येक पटक कार्यपालिकाको धम्की दिने गरेको तथा कार्यपालिका बैठकमै उपस्थित नभएर असहयोग गरेको गुनासो उहाँ गर्नुहुन्छ । “केही गर्न खोज्यो, घरी उपस्थित नहुने, घरी घुक्र्याउने, घरी बैठकमा गणपूरक सङ्ख्या नै पुग्न नदिने जस्ता दुःख दिने काम भयो,” गुरुङ भन्नुहुन्छ ।
तर अहिले परिस्थिति सहज बन्दै गएकाले पहिलेको जस्तो विवाद नरहेको गुरुङको भनाइ छ । “धेरै विषयमा हामी सहमतिमा छौँ, वातावरण सहज बन्दै गएको छ । अहिले नमिलेको कर्मचारीको विषय मात्र हो,” उहाँ भन्नुहुन्छ ।
यो आर्थिक वर्षमा पाख्रिबास नगरपालिकामा करारका २२ जना कर्मचारी निकालिएका थिए । त्यस्तै ५३ जना करारका कर्मचारीको अहिलेसम्म करार नवीकरण भएको छैन । प्रमुख र उपप्रमुखबीच यहीँबाट विवाद सुरु भएको थियो । निकालिएका तथा करार थप नगरिएका सबै कर्मचारी पुनस्र्थापना गरिनुपर्ने उपप्रमुखको माग छ ।
प्रमुख र उपप्रमुखबीचको विवाद साम्य हुन नपाउँदै प्रमुख प्रशासकीय अधिकृत बिदामा बसिदिँदा थप समस्या भयो । प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगर क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् । त्यही कारण नगरपालिकाले सञ्चालन गर्दै आएका विकास अयोजनासमेत प्रभावित हुँदै आएको सरोकारवालाको गुनासो छ । २०७९ असोज १३ गते तत्कालीन सांसद तथा हालका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले फोनमार्फत धम्की दिएपछि प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल नगरमा बस्न नसकेको भन्दै काजमा सामान्य प्रशासन मन्त्रालय जानुभएको बताइन्छ ।
पौडेलले काजमा मन्त्रालय जाँदा पाँच जनालाई निमित्तको जिम्मेवारी दिएर जानुभएको थियो । पौडेलले प्रशासन प्रमुख सन्तोष राई, योजना प्रमुख ओम आले, इन्जिनियर नरेन्द्र कुमार लिम्बू र भेटेरिनरी तथा पशु शाखा प्रमुख गोर्खबहादुर तामाङ र स्वास्थ्य शाखा प्रमुख वसन्त निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुभएको थियो । तत्काल काम चलाउन नगरपालिकाले सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेपछि मन्त्रालयले गोर्खबहादुर तामाङलाई आर्थिक अधिकारसहितको निमित्तको जिम्मेवारी दियो तर अहिले प्रमुख प्रशासकीय अधिकृत पौडेल मन्त्रालयमै सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।
निमित्त प्रमुखको आर्थिक अधिकार खोसिँदा पनि समस्या भएको नगरप्रमुख गुरुङले बताउनुभयो । नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुङ्गो नभएको उहाँको भनाइ छ ।
जनप्रतिनिधिबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत नबसिदिनुजस्ता समस्याको असर अहिले देखिन थालेको पाख्रिबास नगरपालिका–४ निवासी हेमलता तिम्सिना बताउनुहुन्छ । नगरपालिकामा जनप्रतिनिधिहरू आफैँमा विवादमा पर्ने र त्यसको चेपुवामा प्रमुख प्रशासकीय अधिकृत पर्ने हुँदा सम्पूर्ण विकास निर्माणमा समस्या हुँदै आएको पाख्रिबास नगरपालिका–४ का स्थानीय दीपक कार्कीले गुनासो गर्नुभयो । जनप्रतिनिधि जुँगाको लडाइँमा नलागी सबै समस्या समाधान गरी जनताको हितमा काम गर्न स्थानीयको माग छ ।