• १३ साउन २०८१, आइतबार

‘विकासभन्दा पहिले देशलाई चाहिने कानुन मागौं’

blog

कपिल ज्ञवाली 

सिद्धार्थनगर, फागुन ७ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनुभएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो । 

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा १६ औं वार्षिक साधारणसभाको उद्घाटन सभामा उहाँले देशमा नीति नहुँदा थिति नबसेको बताउनुभयो । साना व्यवसायीलाई संरक्षण गर्नेगरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको भावनाअनुसारको राष्ट्रिय नीति नबनेको हो, हामी अरुको परनिर्भरतामा अडेका छौं, बुद्धि विचार पनि अरुकै भएमा हामी कहाँ पुग्छौं ?” समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमानाको समस्या भोग्नु परेको उहाँको भनाइ छ । 

बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा  घरधनी र व्यवसायीवीच भएको सम्झौताबारेको यथार्थ सूचना बाहिर नआउँदा समस्या भएको बताउनुभयो । 

खुल्ला सीमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी संघका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष मोहनप्रसाद बस्याल, महासचिव गोपाल प्रधान, नेकपा (माओवादी केन्द्र) का नेता हकिकुल्ला खां, एमालेका खेम लुइटेल, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले धारणा राख्नुभयो ।