• १० मंसिर २०८१, सोमबार

लोटस आई एलपीएल च्याम्पियन

blog

उपाधि विजेता लोटस आईका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, फगुन ६ गते । कैलालीको धनगढीमा सम्पन्न सातौं संस्करणको विद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । 

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमीलाई सात विकेटले हरायो । सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ११.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । 

लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाउनुभयो । आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाउनुभयो । सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनुभयो । 

लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले चार चार विकेट लिनुभयो। हिक्मत महरा र सुवास रावलले एक/एक विकेट लिनुभयो । उपाधि सहित लोटस आई स्कुलले दुई लाख ५१ हजार एक सय ११ रुपियाँ पायो । उपविजेता सत्यवतीले एक लाख २५ हजार पाँच सय २५ रुपियाँ पायो । 

प्रतियोगिताको प्लेयर अफ दि सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिनुभयो । उहाँले २० हजार रुपियाँ पाउनुभयो । वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विज हुनुभयो ।

दुवैले जनही १० हजार रुपियाँ पाउनुभयो । लिटल फ्लावरका सुबोध तिवारी उदयीमान खेलाडी बन्दै पाँच हजार रुपियाँ पुरस्सकार पाउनुभयो । विजेतालाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पुरस्कार प्रदान गर्नुभयो ।