• १३ साउन २०८१, आइतबार

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मीमा मदाने पहिलो

blog

मदाने गाउँपालिका। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन ५ गते। पालिकाको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्लामा मदाने गाउँपालिका पहिलो स्थानमा देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा मदाने पहिलो भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा बिहीबार सार्वजनिक गरेको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा गुल्मी जिल्लामा मदाने गाउँपालिका पहिलो भएको पालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार मदाने गाउँपालिकाले ७६.०१ अंक प्राप्त गर्दै प्रथम र देशभरकै गाउँपालिकामध्ये छैठाैं स्थानमा परेको  छ। त्यस्तै, रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन्। 

दुई नगरपालिका र दश गाउँपालिका गरी १२ पालिका रहेको यस जिल्लामा सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाहरूको अंक ६०.०१ देखि ६९.९९ को बीचमा अङ्क ल्याएका छन्।