• ३ असार २०८१, सोमबार

सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग

blog

सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुबीच आयोजित भेटघाट कार्यक्रम । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, फागुन ६ गते । उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले सुरक्षा प्रदान गर्न माग गरेका हुन् । 

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँगको भेटघाट कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले खुला सीमाका कारण चुनौती रहेकाले सीमा व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कोभिड –१९, आर्थिक मन्दी र बढ्दो बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएको बताउनुभयो । उहाँले बजारलाई चलायमान बनाउन सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “रुपन्देही विकासका दृष्टिकोणले तीव्र गतिमा अघि बढेको जिल्ला हो । यहाँ सुरक्षाको अवसर र चुनौती दुवै छन् ।”

अध्यक्ष ज्ञवालीले रात्रिकालीन बजारले पर्यटकको बसाई लम्ब्याउन सहयोग पु¥याउने भएकाले रात्रिकालीन बजारको महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रात्रिकालीन बजार सञ्चालनका लागि खासै गृहकार्य हुन सकेको छैन, पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्छ ।”

संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले रातिको समयमा व्यवसाय तथा होटल छिटो बन्द हुँदा बाहिरबाट आउने पर्यटक मर्कामा परेको गुनासो आइरहेको बताउनुभयो । संगठनका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले उद्योगी व्यवसायी र सुरक्षा निकायबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा काममा सहयोग गर्छौं ।’ उपाध्यक्ष रेग्मीले भन्सार छलेर सामान ल्याउँदा स्वदेशी व्यवसाय मर्कामा परेको गुनासो गर्नुभयो ।

संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले सुरक्षा निकाय र व्यवसायीका आफ्नै पीरमर्का रहेको बताउँदै व्यवसाय मर्यादित बनाउनु सुरक्षा निकायको उद्देश्य रहेको बताउनुभयो ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले पछिल्लो समय चोरीका घटना बढेकाले चनाखो हुनुपर्ने बताउनुभयो । विदेशी मदिरा अवैध रुपमा भित्रिदा राजस्व संकलनमा समेत कमी आएको बताउनुभयो । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले खुल्ला सीमाका कारण विभिन्न चुनौती रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिकले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताउँदै प्रहरीलाई सबल बनाउन नागरिकको रचनात्मक सहयोग आवश्यक रहेकोम बताउनुभयो । उहाँले सीसीटिभी क्यामेरा थप्ने योजनामा रहेको बताउनुभयो ।

व्यवसायिक प्रतिष्ठानमा सीसीटीभी क्यामेरा जडान गर्न आग्रह गर्नुभयो । त्यस्तै, सशस्त्र प्रहरी बल, नेपाल गण हेडक्वाटर रुपन्देही नम्बर २७ गणका प्रमुख दीपक थापाले सीमा क्षेत्रबाट अवैध सामान बरामद भइरहेको बताउँदै शान्ति सुरक्षा कायम गराउन प्रहरी लागिपरेको बताउनुभयो ।