• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेश समृद्धिको आधार पर्यटन : मन्त्री यादव

blog

महाशिवरात्रिको अवसरमा पाण्डवेश्वर मन्दिर धारपानीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन ६ गते। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउनुभएको छ। 

महाशिवरात्रिका अवसरमा शनिबार जिल्लाको प्रसिद्ध धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री यादवले धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक रुपमा लुम्बिनी प्रदेश धनी भएको भन्दै यी क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सके पर्यटन क्षेत्रबाट प्रदेश समृद्ध हुने बताउनुभएको हो। 

अरु प्रदेशको तुलनामा लुम्बिनी प्रदेश पर्यटकीय रुपमा अत्यन्त सम्भावना बोकेको क्षेत्र भएको भन्दै मन्त्री यादवले सम्भावना भएका क्षेत्रको विकास गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि यी क्षेत्रलाई व्यवस्थीत रुपले विकास गर्नुपर्ने बताउनुभयो। 

उहाँले धार्मिक एवम् ऐतिहासिक क्षेत्रका रुपमा रहेका लुम्बिनी, स्वर्गद्वारी, पाण्डवेश्वर महादेव धामलगायतका हाम्रो प्रदेशमा भएको सबै धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम्  अन्य क्षेत्रसँग सम्बन्धित पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भौतिक पूर्वाधार विकाससँगै प्रचारप्रसार गरेर आन्तरिक तथा बाध्य देशबाट पर्यटन तान्न सक्नुपर्ने बताए। 

पर्यटनसँगै समृद्धि र रोजगारका लागि औद्योगिक क्षेत्र र कृषिको  विकासमा ध्यानदिनुपर्ने बताउनुभयो। उहाँले कृषि र साना उद्योगको विकासले समृद्धिसँगै स्थानीयस्तरमा धेरै रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभएको हो।