• १३ साउन २०८१, आइतबार

शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकास सम्भव छैन : मन्त्री चौधरी

blog

कार्यक्रमलाई संबोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारु। तस्बिरः लक्ष्मण पौडेल

भैरहवा समाचारदाता

भैरहवा, फागुन ६ गते। लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारुले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास असम्भव रहेको बताउनुभएको छ। 

रुपन्देहीको सियारीस्थित लीलाधर घिमिरे छपिया जनता कलेजको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई विकास गर्दै जानु पर्नेमा जोड दिनुभयो। 

मन्त्री चौधरीले नेपालमा अहिलेसम्म पनि दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राज्यको तर्फबाट शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर जानु पर्ने अवस्था खड्किएको बताउनुभयो। उहाँले पुर्वाधारको पनि पुर्वाधार शिक्षा क्षेत्र भएको बताउदै मानव संशाधनको विकासले मात्रै समाजको विकास प्रक्रियाले सही दिशा आत्मसाथ गर्ने बताउनुभयो। 

उहाँले ज्ञान र व्यवहारलाई एक साथ अगाडि बढाउनु पर्ने बताउदै संविधान अनुसार प्राथमिकतामा परेको शिक्षालाई बजेटमा पनि प्राथमिकतामा पारेर लैजानु पर्नेमा जोड दिनुभयो। 

मन्त्री चौधरीले शिक्षालाई व्यवस्थित गर्न नसक्दासम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै शिक्षा क्षेत्रको विकाससँगै भौतिक पूर्वाधारको विकास बढाउनुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सांसद वसिउद्धिन खाँले रुपन्देहीको शिक्षा क्षेत्रको समग्र विकासका लागि आफू निरन्तर लाग्ने बताउनुभएको छ। उहाँले शिक्षामा पछाडि रहेको मर्चवार तथा आसपासको क्षेत्रलाई शिक्षाको मूलधारमा ल्याउनका लागि प्रदेश सरकारसंग आफुले निरन्तर काम गर्ने बताउनुभयो। 

त्यस्तै प्रदेश सांसद हेमा बेल्वासेले सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र सिपमुलक ज्ञानलाई एकसाथै अघि बढाउनु पर्नेमा जोड दिनुभयो। 

कलेज व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिद्धराम बन्जाडे, सहायक प्रधानाध्यापक तेजप्रसाद खरेल, सियारी गाँउपालिकाका उपाध्यक्ष तारा थारु, कलेजका प्रधानाध्यापक लोक बस्याल, पब्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, सहायक प्रधानाध्याक इन्द्रप्रसाद तिवारी लगायतले बोल्दै शिक्षा क्षेत्रको समग्र विकासका लागि तिनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो। 

त्यस अवसरमा अध्यक्ष घिमिरेले सियारी क्षेत्रको शिक्षा र पुर्वाधार विकासका लागि प्रदेश सरकारसंग आग्रह गर्नुभएको छ। उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रदेशको स्थायी राजधानी भालुवाङ जोड्ने फास्ट ट्रयाकको कामलाई गती दिन मन्त्री चौधरीलाई आग्रह गर्नुभयो। कार्यक्रममा कलेजलाई सहयोग गर्ने दाता, छात्रवृत्ति स्थापना गर्ने व्यक्ति, छात्रवृत्ति पाउने विद्यार्थी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।